×

गैँडाकोट । गैँडाकोट क्षेत्रमा गुणस्तरीय शिक्षाको पहिचान बनाएको गैँडाकोट इङ्लिस स्कुलले नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरेको छ। बैशाख ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने विद्यालयमा सीमित सिट, आधुनिक शिक्षण पद्धति र विद्यार्थीमैत्री वातावरणका कारण विद्यार्थी तथा अभिभावकहरूको आकर्षण निरन्तर बढिरहेको छ।

विद्यालयमा हाल १४०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने १४० जना शिक्षक तथा कर्मचारीले शैक्षिक तथा प्रशासनिक सेवा प्रदान गर्दै आएका छन्। यसैबीच, विद्यालयले विद्यार्थीहरूको सहज आवतजावतका लागि नयाँ विद्यालय गाडीहरू पनि थप गरेको छ।

गैँडाकोट क्षेत्रकै एकमात्र ‘क’ वर्गको विद्यालयका रूपमा परिचित उक्त संस्थाले प्रत्येक कक्षामा बढीमा ३५ जना विद्यार्थी मात्र राख्ने नीति अपनाउँदै गुणस्तरीय शिक्षामा विशेष जोड दिँदै आएको छ। विद्यालयले वातावरणमैत्री शिक्षण प्रणाली, ‘नो पनिस्मेन्ट’ अवधारणा र विद्यार्थीको मनोभावनालाई बुझेर गरिने शिक्षणलाई आफ्नो मुख्य विशेषता बनाएको छ।

विद्यालयका प्राचार्य हिरालाल अर्यालले विद्यालयको शैक्षिक उद्देश्य र दृष्टिकोण स्पष्ट पार्दै भने,“हाम्रो मुख्य लक्ष्य केवल शैक्षिक नतिजा मात्र होइन, व्यवहारिक ज्ञानसहित अनुशासित, आत्मनिर्भर र जिम्मेवार विद्यार्थी उत्पादन गर्नु हो। विद्यार्थीको मानसिक अवस्था बुझेर गरिने शिक्षणले उनीहरूको समग्र विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।”

त्यसैगरी सहायक प्राचार्य नवराज कंडेलले विद्यालयको शिक्षण वातावरणबारे प्रतिक्रिया दिँदै भने, “नो पनिस्मेन्ट प्रणालीले विद्यार्थीहरूलाई डरमुक्त वातावरणमा सिक्ने अवसर दिएको छ। यसले उनीहरूको आत्मविश्वास बढाएको छ र सिकाइलाई अझ प्रभावकारी बनाएको छ।”

उनका अनुसार विद्यालयले विद्यार्थीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै जंकफुड तथा गुलिया परिकारहरू पूर्ण रूपमा निषेध गरेको छ, जसले स्वस्थ जीवनशैली निर्माणमा सहयोग पुर्‍याइरहेको छ।

गुणस्तरीय शिक्षा, अनुशासित वातावरण, आधुनिक सुविधा र विद्यार्थीमैत्री व्यवस्थापनका कारण विद्यालय अभिभावकहरूको पहिलो रोजाइ बन्दै गएको छ। नयाँ भर्ना खुलासँगै विद्यालयमा विद्यार्थी चाप अझ बढ्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया