चितवन- इच्छाकामना गाउँपालिकाले नयाँ शैक्षिक सत्र २०८३ का लागि विद्यालय भर्ना अभियान तथा नियमित पठन–पाठन सञ्चालन सम्बन्धी सूचना जारी गरेको छ। गाउँपालिकाको निर्णयअनुसार बैशाख ७ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने र बैशाख ८ गतेदेखि विद्यालयहरूमा नियमित पठन–पाठन सुरु गरिने भएको छ।
गाउँपालिकाको कार्यालय, कुरिनटारबाट जारी सूचनामा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशनअनुसार शैक्षिक कार्यक्रम कार्यान्वयनमा ल्याइएको उल्लेख गरिएको छ। नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार शिक्षा व्यवस्थापन स्थानीय तहको अधिकारभित्र पर्ने भएकाले सोही आधारमा शैक्षिक क्यालेन्डर लागू गरिएको जनाइएको छ।
यस सम्बन्धमा गाउँ शिक्षा समिति, सरोकारवाला निकाय तथा सम्बन्धित पक्षहरूसँगको समन्वयमा निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई तोकिएको समयसीमाभित्र भर्ना सम्पन्न गर्न र नियमित पठन–पाठन सञ्चालन गर्न निर्देशन दिएको छ।
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले समयमै भर्ना र पठन–पाठन सुरु गर्दा शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने बताउनुभयो। उहाँले भन्नुभयो, “विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउनु हाम्रो मुख्य प्राथमिकता हो। समयमै भर्ना र नियमित कक्षा सञ्चालनले विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि हुन्छ।”
उहाँले अभिभावक, शिक्षक तथा सरोकारवाला सबैलाई भर्ना अभियान सफल बनाउन सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभएको छ।




















उज्यालो खबर











