×

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नका लागि आवश्यक सबै प्रक्रिया पूरा भएको प्रहरीले जनाएको छ ।अपराध अनुसन्धान कार्यालय टेकुका एक उच्च अधिकारीले  आवश्यक पर्ने सबै प्रक्रिया पूरा भइसकेको बताए ।

‘सबै प्रक्रिया पूरा भइसकेको छ । हामीले कागजात सबै तयार पारेका छौं,’ ती अधिकारीले भने ।ओली र लेखकको निवासमा बाक्लो संख्यामा प्रहरी परिचालन भएका छन् ।नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तीनै तहका सुरक्षाकर्मीहरू सो क्षेत्रमा खटिएका छन् ।

नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।लगत्तै गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखसँग तारन्तार छलफल गरिरहेका थिए । प्रहरीले सरकारसँग आधिकारिक रुपमा लिखित आदेश माग गरेको थियो ।

मध्यराति कानुन मन्त्रालयका सचिवसमेतलाई नक्सालस्थित हेडक्वार्टर झिकाइएको थियो ।गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय निवर्तमान प्रधानमन्त्री कार्कीले गरेकी थिइन् । यद्यपि सरकारले उक्त प्रतिवेदन भने आधिकारिक रुपमा सार्वजनिक गरेको छैन ।तर, उक्त प्रतिवेदनको अंश भने सञ्चारमाध्यममा सार्वजनिक भइसकेको छ ।

प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको थियो ।शुक्रबार बसेको नयाँ सरकारको पहिलो बैठकले आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय लगत्तै गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफलमा जुटेका थिए ।मध्यरातसम्म भएको छलफलपछि सहमति नभएपछि कानुनसचिव पाराश्वर ढुंगानालाई पनि प्रहरी हेडक्वार्टर बोलाइएको थियो ।उनी हेडक्वार्टरबाट निस्किएर लिखित आदेश तयार पारे । त्यसपछि प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गरेर ओलीलाई नियन्त्रणमा लिएको हो ।

मुलुकी फौजदारी संहिताको मुलुकी फौजदारी संहिताको दफा १८१ र दफा १८२ अनुसार कारबाही सिफारिस भएको थियो ।उक्त दफामा लापरबाहीपूर्ण र हेलचेर्क्याइँ गरेर ज्यान लिएको कसुर अन्तर्गत कारबाही हुने उल्लेख छ । आयोगले ती दुवै दफा उल्लेख गरी कारबाहीका लागि सिफारिस गरेको थियो ।

तपाईको प्रतिक्रिया