×

चितवन-  चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारस्थित पृथ्वीराजमार्गमा सोमबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

काठमाडौँबाट मुग्लिङतर्फ जाँदै गरेको बा.प्र. ०२-०१६ प ९६८९ नम्बरको स्कुटरलाई प्र.१-०२-००१ क ४५३३ नम्बरको पीएम मिक्सर गाडीले ठक्कर दिँदा स्कुटर चालक धादिङ बेनीघाट रोराङ गाउँपालिका–८ निवासी ४० वर्षीय टपलाल श्रेष्ठ घाइते भएका छन्। उनको खुट्टा तथा शरीरका विभिन्न भागमा मध्यम चोट लागेको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटरको पछाडि सवार उनकी श्रीमती ४२ वर्षीया अम्ब कुमारी श्रेष्ठ गम्भीर घाइते भएकी थिइन्। दुवैलाई प्रारम्भिक उपचारका लागि इच्छाकामना आधारभूत स्वास्थ्य चौकी, कुरिन्टार लगिएको थियो। पछि थप उपचारका लागि भरतपुर रिफर गरिएकोमा अम्ब कुमारी श्रेष्ठलाई नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा साँझ ७:११ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनापछि पीएम मिक्सर गाडी चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। मिक्सर गाडी भने प्रहरी नियन्त्रणमा रहेको छ।

तपाईको प्रतिक्रिया