गैँडाकोट- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा जापानिज इन्सेफलाइटिस (JE) विरुद्धको खोप अभियान उत्साहजनक रूपमा अघि बढिरहेको छ। प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरको समन्वयमा सञ्चालन भइरहेको यस अभियानअन्तर्गत ३५ वर्षमाथिका लक्षित समूहलाई खोप लगाउने कार्य तीव्र पारिएको छ।
जिल्लाभर कुल १ लाख ५० हजार जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा हालसम्म ८२ हजार ८५६ जनाले खोप लगाइसकेका छन्, जुन लक्ष्यको करिब ५५.२ प्रतिशत प्रगति हो।
स्थानीय तहगत विवरण अनुसार गैँडाकोट नगरपालिकामा हालसम्म १९ हजार २९५ जनाले खोप लगाइसकेका छन्, जसमा ११ हजार १७० महिला र८ हजार ११५ पुरुष रहेका छन्। त्यस्तै बिनयी त्रिवेणी गाउँपालिकामा ६ हजार ४३८ (३ हजार ६६४ महिला र २ हजार ७७४ पुरुष), मध्यविन्दु नगरपालिकामा १७ हजार ६९ (१० हजार २८८ महिला र ६ हजार ७८१ पुरुष), कावासोती नगरपालिकामा १७ हजार १२९ (१००८४ महिला र ७०४५ पुरुष), देवचुली नगरपालिकामा १५ हजार ३६४ (९ हजार २२५ महिला र ६ हजार १३९ पुरुष), हुप्सेकोट गाउँपालिकामा ५ हजार ६६३ (३ हजार ३५१ महिला र २ हजार ३१२ पुरुष), बुलिङटार गाउँपालिकामा ३ हजार ५२३ (१ हजार ९८४ महिला र १ हजार ५३९ पुरुष) तथा बौदीकाली गाउँपालिकामा ३ हजार ७८४ (२ हजार१६८ महिला र १ हजार ६१६ पुरुष) नागरिकले खोप लगाइसकेका छन्।
प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशज प्रसाद चापागाइले खोप अभियानलाई अझ प्रभावकारी बनाउन सबै सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको बताए। उनका अनुसार, “जापानिज इन्सेफलाइटिस जस्तो गम्भीर रोगबाट बच्न खोप नै सबैभन्दा सुरक्षित र प्रभावकारी उपाय हो। त्यसैले लक्षित समूहका सबै नागरिकलाई समयमै खोप लगाउन आग्रह गर्दछौँ।” उनले अभियानलाई तीव्रता दिन जनचेतना अभिवृद्धि र दुर्गम क्षेत्रमा पहुँच विस्तारलाई प्राथमिकता दिइएको जानकारी पनि दिए।
स्वास्थ्य कार्यालयका अनुसार अभियान अन्तर्गत जिल्लाभरका खोप केन्द्रहरूमा नियमित रूपमा सेवा प्रदान भइरहेको छ भने घरदैलो अभियानमार्फत पनि नागरिकलाई खोप लगाउन प्रेरित गरिँदै आएको छ। केही स्थानीय तहमा प्रगति उत्साहजनक देखिए पनि केही क्षेत्रमा अझै गति बढाउनुपर्ने अवस्था रहेको बताइएको छ।
जापानिज इन्सेफलाइटिस जस्तो ज्यानसमेत जान सक्ने रोगबाट बच्न खोप अत्यन्त आवश्यक भएकाले सबै लक्षित नागरिकलाई नजिकको खोप केन्द्रमा गई खोप लगाउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्। अभियान निर्धारित समयसम्म सञ्चालन हुने र लक्ष्य प्राप्तिका लागि सबैको सक्रिय सहभागिता अपरिहार्य रहेको जनाइएको छ।




उज्यालो खबर




