×

चितवनको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडक खण्डमा अटो दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

शनिबार साँझ करिब ५ बजेको समयमा उर्पदानगढीबाट शक्तिखोरतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ह ०३१५ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडक छेउको नालामा पल्टिँदा दुर्घटना भएको हो।

दुर्घटनामा अटो चालक चितवन राप्ति नगरपालिका–९ बस्ने ३९ वर्षका पूर्ण बिक सहित राप्ति नगरपालिका–८ बस्ने ५६ वर्षकी विष्णु कुमारी तामाङ, राप्ति नगरपालिका–९ बस्ने २२ वर्षकी बिनी तामाङ र राप्ति नगरपालिका–९ बस्ने अन्दाजी ५५ वर्षकी तिलक तामाङ को उपचारका क्रममा साँझ ६:४० बजे चिकित्सकले मृत घोषणा गरेका छन्।

दुर्घटनामा घाइते भएकी चितवन राप्ति नगरपालिका–९ बस्ने ५३ वर्षकी चिनी कुमारी गुरुङ को शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ र अवस्था मध्यम रहेको बताइएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी जुटपानीबाट प्रहरी नायब निरीक्षक तारा किशोर राईको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनामा परेको अटो घटनास्थलमै रहेको र उक्त स्थान प्रहरी चौकी जुटपानीबाट करिब १२ किलोमिटर उत्तरतर्फ पर्ने प्रहरीले जनाएको छ।प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया