नवलपुर –नेपाली कांग्रेस का तर्फबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २, नवलपुरमा उम्मेदवारी दिएका युवा नेता ओमबहादुर घर्ती मगरले समग्र विकास, रोजगारी सिर्जना र सुशासनलाई केन्द्रमा राख्दै विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। “बदल्यौं कांग्रेस, बदल्छौं देश” नारासहित सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन, सामाजिक न्यायदेखि सुशासनसम्मका १७ शीर्षकअन्तर्गत योजनाहरू समेटिएका छन्।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्षसमेत रहेका घर्ती मगरले आफूलाई “काम गरेर देखाउने नेतृत्व”का रूपमा प्रस्तुत गर्दै पाँच वर्षभित्र नवलपुर–२ लाई समुन्नत र आत्मनिर्भर बनाउने लक्ष्य अघि सारेका छन्।
शिक्षा र स्वास्थ्यमा गुणस्तरीय सुधारको प्रतिबद्धता
प्रतिबद्धता पत्रअनुसार क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयलाई गुणस्तरीय, प्रविधिमैत्री र रोजगारीमुखी शिक्षामा रूपान्तरण गरिनेछ। प्राविधिक तथा सीपमूलक शिक्षालाई प्राथमिकता दिँदै नयाँ शिक्षा ऐन निर्माणका लागि पहल गरिने उल्लेख छ।
स्वास्थ्यतर्फ मध्यविन्दु प्रादेशिक अस्पताल, जिल्ला आयुर्वेद अस्पताल तथा पालिका स्तरीय अस्पतालहरूको स्तरोन्नति गरिनेछ। स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, सेवामुखी र सर्वसुलभ बनाउने प्रतिबद्धता समेत जनाइएको छ।
कृषि आधुनिकीकरण र पकेट जोन विकास
घर्ती मगरले कृषि र पशुपालनलाई आत्मनिर्भर अर्थतन्त्रको आधार मानेका छन्। बौदीकाली, हुप्सेकोट, मध्यविन्दु र विनयी त्रिवेणीका पहाडी क्षेत्रमा सुन्तला, कागती, अदुवा, बेसार, अम्रिसो लगायत नगदेबालीलाई पकेट जोनका रूपमा विकास गर्ने योजना छ। तराई क्षेत्रमा केरा, ऊखु, तरकारी, मत्स्यपालन र पशुपालन कार्यक्रमलाई प्रभावकारी बनाइने उल्लेख गरिएको छ।
पालिका स्तरमा चिस्यान केन्द्र स्थापना, कृषि यान्त्रीकरण, बजारीकरण तथा प्रशोधन केन्द्र स्थापना गरी किसानलाई उद्यमी बनाउने लक्ष्य लिइएको छ।
पूर्वाधार र यातायातमा व्यापक विस्तार
पूर्वाधार विकासतर्फ त्रिवेणी–दुम्किबास सडक, दुम्किबास–मित्याल–रामपुर, चोरमारा–झ्यालबास–डेढगाउँ–भिमाद सडक स्तरोन्नति, हुलाकी मार्ग तथा नारायणी करिडोर पर्यटकीय मार्ग निर्माणलाई प्राथमिकता दिइएको छ।
धौवादी फलाम खानी उत्खनन र प्रशोधन प्रक्रिया अगाडि बढाई रोजगारी र राजस्व वृद्धि गर्ने योजना छ। विभिन्न स्थानमा पक्की पुल निर्माण, वैकल्पिक सडक विस्तार, औद्योगिक ग्राम विकास तथा बजार क्षेत्रमा आधुनिक पार्किङ्ग स्थल निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ।
पर्यटन प्रवर्द्धन र धार्मिक स्थल संरक्षण
रुद्रपुर (हुप्सेकोट–धौवादी), त्रिवेणी धाम, दाउन्नेदेवी मन्दिर, लोहासेधारा, अकलादेवी मन्दिर लगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्ने योजना सार्वजनिक गरिएको छ। साहसिक पर्यटन (प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, बन्जीजम्प, स्काइडाइभ) विकास गर्दै होमस्टे, जंगल सफारी र नारायणी डुंगा सयरलाई व्यवस्थित बनाइने उल्लेख छ।
भूमिहीन, सुकुम्बासी र सामाजिक न्याय
भूमिहीन दलित, आदिवासी जनजाति र अव्यवस्थित बसोबासीलाई राष्ट्रिय भूमि आयोग र पालिकाको समन्वयमा जग्गाधनी प्रमाण–पूर्जा उपलब्ध गराउने प्रतिबद्धता छ। भूमि वर्गीकरण, लिज प्रणाली कार्यान्वयन र कृषियोग्य जमिनको सदुपयोगमा जोड दिइएको छ।
महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि विशेष कार्यक्रम, कर छुट र स्वास्थ्य सेवामा प्राथमिकता दिने योजना उल्लेख गरिएको छ।
युवा, खेलकुद र रोजगार
जिल्लाभित्रै रोजगारी सिर्जना गर्दै बाध्यात्मक वैदेशिक रोजगारको अवस्थालाई अन्त्य गर्ने प्रयास गरिने घर्ती मगरको दाबी छ। नवप्रवर्तन केन्द्र स्थापना गरी युवालाई बिना धितो सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तथा “एक पालिका–एक रंगशाला” अवधारणा कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ।
ऊर्जा, सूचना प्रविधि र वातावरण
दुई वर्षभित्र विद्युत पहुँच नभएका पहाडी क्षेत्रमा विद्युतीकरण गर्ने, २४सै घण्टा विद्युत आपूर्ति सुनिश्चित गर्ने तथा जिल्लाभित्र विद्युत उत्पादनको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ।
वन व्यवस्थापन, जैविक विविधता संरक्षण, “एक वडा–एक पार्क” अभियान तथा जलवायु परिवर्तन व्यवस्थापनमा पहल गरिने प्रतिबद्धता पनि पत्रमा समेटिएको छ।
सुशासन र भ्रष्टाचारमुक्त समाज
घर्ती मगरले सुशासनको प्रत्याभूति दिलाउँदै भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सेवा प्रवाहलाई सरलीकृत र पारदर्शी बनाउँदै उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने व्यवस्था गरिने उल्लेख छ।
अन्त्यमा उनले “समुन्नत नवलपुर हाम्रो अभियान, समृद्धिका लागि रुख चिन्हमा मतदान” नारासहित फागुन २१ गते हुने निर्वाचनमा मतदातालाई रुख चिन्हमा मतदान गर्न आह्वान गरेका छन्।
नवलपुर–२ मा विकास, रोजगारी र सामाजिक न्यायको एजेन्डासहित मैदानमा उत्रिएका घर्ती मगरको यो विस्तृत प्रतिबद्धता पत्रले आगामी निर्वाचनमा मतदाताको ध्यान तानेको छ।




















उज्यालो खबर











