गैँडाकोट- नेकपा एमाले गैँडाकोट नगर कमिटीले आफ्नै पार्टी कार्यालय भवन निर्माण सम्पन्न गर्दै संगठन विस्तार र व्यवस्थापनमा नयाँ ऊर्जा थपेको छ। गैडाकोट ५ पतनादेवी मार्गमा प्राप्त जग्गामा निर्माण गरिएको भवन अबदेखि पार्टीका नियमित बैठक, प्रशिक्षण, योजना तथा संगठनात्मक गतिविधिको केन्द्र बन्ने भएको छ।
भवन निर्माणमा गण्डकी प्रदेश कमिटी सदस्य क. गोपेन्द्र न्यौपानेले रु १२ लाख ९६ हजार बराबरको आर्थिक सहयोग प्रदान गरेका थिए। न्यौपानेले पार्टीलाई संस्थागत र दीर्घकालीन रूपमा बलियो बनाउन स्थायी संरचना आवश्यक रहेको बताए। “पार्टीको आफ्नै भवन हुनु संगठनात्मक आत्मनिर्भरता र अनुशासनको प्रतीक हो। यो भवन केवल इँटा र सिमेन्टको संरचना मात्र होइन, कार्यकर्ताको योगदान र विश्वासको प्रतिफल हो,” उनले भने। उनले आगामी दिनमा पनि पार्टीका रचनात्मक गतिविधिमा साथ रहने प्रतिबद्धता व्यक्त गरे।
२०८१ सालमा निर्वाचित नगर कमिटी अध्यक्ष कृष्ण कँडेलको नेतृत्वमा उपाध्यक्ष गोविन्द सुवेदी, सचिव राजु भुसाल, उपसचिवद्वय नरेन्द्र थापा र गोमा पौडेललगायत पदाधिकारीहरूको सक्रिय समन्वयमा निर्माण कार्य सम्पन्न भएको हो। सल्लाहकार परिषद्का अध्यक्ष क. नवराज कँडेल, नगर कमिटी सदस्यहरू, जनसंगठनका प्रतिनिधि तथा मजदुर नेताहरूको सहकार्यलाई पनि नगर कमिटीले सराहना गरेको छ।
नवनिर्मित भवनको उद्घाटन गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले केन्द्रीय कमिटी सचिव एवं प्रदेश इन्चार्ज क. खगराज अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।नगर कमिटीले आफ्नै भवन निर्माणसँगै पार्टी गतिविधि थप व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गर्दै सहयोगी सबैप्रति आभार प्रकट गरेको छ।




उज्यालो खबर




