राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नवलपुरका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारहरूले निर्वाचन जितेपछि तलब–भत्ता नलिने र भ्रष्टाचार नगर्ने सार्वजनिक प्रतिबद्धता जनाएका छन्। पत्रकार भेटघाट तथा उम्मेदवार साक्षात्कार कार्यक्रममा उनीहरूले यस्तो घोषणा गरेका हुन्।
निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार दिपकचन्द्र वस्ताकोटी ले आफू निर्वाचित भएमा सरकारी तलब नलिई सो रकमबाट अक्षयकोष स्थापना गर्ने घोषणा गरे। उक्त कोषबाट आउने ब्याज खेलाडीहरूको हकहितमा खर्च गरिने उनको भनाइ छ।
वस्ताकोटीले गैँडाकोटस्थित जिर्ण अवस्थामा रहेको भृकुटी कागज कारखानालाई राष्ट्रियकरण गरी संग्रहालयका रूपमा विकास गर्दै पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसमेत अघि सारे।
निर्वाचन क्षेत्र नम्बर २ की उम्मेदवार रुन कुमारी महतो (रुना) ले आफू निर्वाचित भएमा पारिश्रमिक लिए पनि त्यसलाई व्यक्तिगत उपयोग नगरी छुट्टै कोष स्थापना गरेर पारदर्शी रूपमा सञ्चालन गर्ने बताइन्।
महतोले नवलपुरको भौगोलिक, आर्थिक, सामाजिक तथा कृषि क्षेत्रका समस्या, पर्यटन प्रवर्द्धन, नदी कटान नियन्त्रण र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। साथै, आफ्नो पार्टीले अघि सारेका एजेन्डा अन्य दलभन्दा फरक र स्पष्ट भएको दाबी गरिन्।
पार्टीका केन्द्रीय सदस्य बिन्दु पौडेल ले गणतन्त्रवादी र राष्ट्रवादी शक्तिबीच स्पष्ट विभाजन देखिएको उल्लेख गर्दै राप्रपाले उठाएका मुद्दा अन्य दलसँग नभएको दाबी गरिन्। उनले “हामी व्यक्ति होइन, विचार र नीतिको पक्षमा छौँ” भन्ने धारणा राखिन्।




















उज्यालो खबर










