×

नवलपुर- गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा जारी प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न दुई खेलमा लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी भएका छन्।

पहिलो खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशमाथि सात विकेटको जित दर्ता गर्‍यो। बागमतीले प्रस्तुत गरेको १०४ रनको लक्ष्य लुम्बिनीले १२.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १०३ रन बनाएको थियो।

बागमतीका लागि उत्तम थापा मगरले ४२ बलमा ३८ रन बनाए। सुमन सुनारले १८, सोनु देवकोटाले १४ तथा रोशन विक र शुभ कंशकारले समान १०/१० रन जोडे। लुम्बिनीका सलाहुद्दिन खानले चार तथा वीर बहादुर घर्ती मगरले दुई विकेट लिए।

जवाफमा लुम्बिनीका आकाश त्रिपाठीले ३४ बलमा अविजित ५९ रन बनाउँदै टोलीलाई सहज जिततर्फ डोर्‍याए। सुमीत श्रेष्ठले १९ तथा कप्तान देव खनालले १८ रनको योगदान दिए। बागमतीका कप्तान इशान पाण्डेले तीन विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।

दोस्रो खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई ५७ रनले पराजित गर्‍यो। टस हारेर पहिले ब्याटिङ गरेको मधेशले २० ओभरमा आठ विकेट गुमाउँदै १६९ रन बनायो। मुहम्मद आदि आलमले ४९ रनको योगदान गर्दा पवन श्राफले ३१ र विशाल पटेलले १८ रन जोडे।

१७० रनको लक्ष्यसहित मैदान उत्रिएको गण्डकी १६.१ ओभरमा ११२ रनमै अलआउट भयो। गण्डकीका अरुण कुमालले ३१ र कप्तान विपीन खत्रीले २६ रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन्। मधेशका रञ्जित कुमारले पाँच, मुहम्मद अली आलमले तीन तथा विशाल पटेलले दुई विकेट लिए।

प्रतियोगितामा सात प्रदेश र आयोजकसहित आठ टोली सहभागी छन्। विजेताले तीन लाख रुपैयाँ तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रवेश निःशुल्क रहेको छ।

तपाईको प्रतिक्रिया