गैँडाकोट- नवलपुरको गैँडाकोटमा जारी गैँडाकोट मेयरकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछन्। नवजागरण खेल मैदानमा बिहान १० बजे लुम्बिनी प्रदेश र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो १ बजे मधेश प्रदेश र गण्डकी प्रदेश आमनेसामने हुने तालिका रहेको आयोजकले जनाएको छ।
यसअघि हिजो सम्पन्न उद्घाटन खेलमा मेयर इलेभेन विजयी भएको थियो। कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै आयोजक टोलीले प्रतियोगितामा सुखद सुरुवात गरेको हो।
प्रतियोगिताबारे नवजागरण ग्रामीण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले प्रतियोगिताले गैँडाकोटलाई राष्ट्रिय खेलकुद गतिविधिको केन्द्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “मेयरकप केवल खेल मात्र होइन, यो स्थानीय युवाको प्रतिभा उजागर गर्ने महत्वपूर्ण अवसर हो। यसले नगरको पहिचान विस्तार गर्नुका साथै खेलकुद पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्याउनेछ।”
नवजागरण ग्रामीण विकास केन्द्रको आयोजना, गैँडाकोट नगरपालिकाको प्रवर्द्धन, वडा नं. ९ को सहयोग तथा नेपाल क्रिकेट संघ को समन्वयमा सञ्चालन भइरहेको प्रतियोगिताले पाँच दिनसम्म नगरलाई खेलमय बनाउने अपेक्षा गरिएको छ। आयोजकका अनुसार प्रतियोगितामा विजेताले ३ लाख रुपैयाँ र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।




















उज्यालो खबर










