नवलपुर – राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी पुनः नेपाली कांग्रेसमा फर्किएका करुणासागरले सुसंस्कृत राजनीति, सुशासन र भ्रष्टाचारमुक्त समाजको नारामा व्यवहारिक इमानदारी आवश्यक रहेको बताएका छन्।
आज बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नवलपुर–१ का मतदातामाझ भ्रामक आरोप र झुटा प्रचार फैलाइएकोप्रति असन्तुष्टि जनाए। बाहिरबाट नेता बोलाएर सडक र चोकचौराहामा भ्रम सिर्जना गर्ने प्रयास भएको उल्लेख गर्दै उनले यस्तो अभ्यासले सुसंस्कृत राजनीतिको आधार कमजोर बनाउने बताए।
करुणासागरले विगत ३५ वर्ष अरूले झुक्काए भन्ने भाष्य स्थापित गर्दै पाँच वर्ष आफूहरूले शासन गर्ने सन्देश आफैंमा विरोधाभासी रहेको टिप्पणी गरे। “मतदातालाई झुक्याएर होइन, स्पष्ट एजेण्डा र बहसबाट विश्वास जित्नुपर्छ,” उनले लेखेका छन्।
उनले नवलपुरको विकास र समृद्धिका मुद्दामा प्रतिस्पर्धी उम्मेदवारहरूबीच सार्वजनिक बहस (Public Debate) आयोजना गर्न आह्वान गर्दै ‘जान्ने लाई छान्ने’ सिद्धान्तमा आधारित मतदान गर्न आग्रह गरेका छन्। “चुपचाप छाप होइन, खुला बहसपछि विवेकपूर्ण निर्णय गरौं,” उनले उल्लेख गरेका छन्।
पदलोभ र अवसरवादी राजनीतिको आलोचना गर्दै उनले कम प्रतिस्पर्धा हुने मैदान रोज्ने प्रवृत्तिभन्दा बढी प्रतिस्पर्धा हुने मैदानमा उत्रनु नै साहस भएको दाबी गरे। पार्टीभित्र प्राथमिक निर्वाचन (Primary Election) को अभ्यास सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले तल्लो तहसम्म सोच र दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको ‘रुख’ चुनाव चिन्हमा मतदान गर्न आह्वान गर्दै उनले “सुखमा–दुखमा हाम्रो आफ्नै चिन्ह रुखमा छाप” भन्ने सन्देश दिएका छन्।करुणासागरको कांग्रेसमा पुनरागमनसँगै नवलपुर–१ को राजनीतिक प्रतिस्पर्धा थप रोचक बनेको विश्लेषण गरिएको छ।



उज्यालो खबर




