नवलपुरमा किशोरीहरूको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै फागुन ४ गतेदेखि ह्युमन पापिलोमा भाइरस (एचपीभी) विरुद्धको निःशुल्क खोप अभियान सुरु हुनेभएको छ । कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरूलाई लक्षित गरी अभियान सञ्चालनमा ल्याइएको हो।
प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईँ का अनुसार जिल्लाका आठवटै पालिकाभित्र रहेका सामुदायिक तथा निजी विद्यालयमै पुगेर खोप लगाइने व्यवस्था मिलाइएको छ। अभियानअन्तर्गत विद्यालय जाने तीन हजार ५६५ जना बालिका तथा विद्यालय नजाने ३० जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ। सुरुमा एक हप्ताभित्र अभियान सम्पन्न गर्ने योजना भए पनि बीचमा बिदा परेकाले फागुन १३ गतेसम्म कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
चापागाईँले एचपीभी खोप महिनावारी सुरु हुनुअघि तथा यौन सम्पर्क हुनुअघि नै लगाउँदा अझ प्रभावकारी हुने बताउँदै समयमै खोप लगाएमा भविष्यमा पाठेघरको मुखको क्यान्सरबाट जोगिन महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गर्नुभयो।
यसैगरी, गैँडाकोट मा कक्षा ६ मा अध्ययनरत ७३० जना छात्रा तथा विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई लक्षित गरिएको छ। यहाँ ४१ वटा सामुदायिक तथा संस्थागत विद्यालय र १५ वटा स्वास्थ्य संस्थासहित जम्मा ५६ वटा खोप केन्द्रमार्फत फागुन ४ देखि ११ गतेसम्म खोप लगाइनेछ।
जनस्वास्थ्य निरीक्षक माधव आचार्य का अनुसार अभियान सफल बनाउन २५ जना खोप कार्यकर्ता र ४१ जना स्वयंसेवक खटिएका छन्। स्वास्थ्यकर्मीहरूले अभिभावकलाई आफ्ना छोरीहरूलाई अनिवार्य रूपमा खोप लगाउन सहयोग गर्न आग्रह गरेका छन्।
अभियानले जिल्लाभरका किशोरीहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।




















उज्यालो खबर










