×

नवलपुर- नवलपुर क्षेत्र नम्बर–१ का नेकपा एमालेका उम्मेदवार भागिरथ सापकोटाले पत्रकार सम्मेलनमार्फत आफ्ना योजना तथा प्रतिबद्धता सार्वजनिक गरेका छन्। आसन्न निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा उनले क्षेत्रको समग्र विकासका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गर्दै मतदातासँग विश्वासको मत मागेका छन्।

पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले आफू स्थानीय उम्मेदवार भएकाले यहाँका समस्या, आवश्यकता र सम्भावनाबारे राम्रोसँग जानकार रहेको बताए। “यो माटोमै जन्मिएको र हुर्किएको व्यक्ति भएकाले यहाँका जनताको भावना र अपेक्षा बुझ्न मलाई सजिलो छ,” उनले भने, “जनताको माया र साथले म विजयी हुनेमा विश्वस्त छु।”

उनले पूर्वाधार विकास, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारलाई आफ्नो प्राथमिकतामा राखेको स्पष्ट पारे। युवालाई स्वरोजगार तथा उद्यमशीलतामा प्रोत्साहन गर्ने, सडक र सिंचाइ विस्तार गर्ने तथा सेवाग्राहीमैत्री प्रशासन स्थापना गर्ने आफ्नो लक्ष्य रहेको उनले उल्लेख गरे।

सापकोटाले विकासलाई दलगत स्वार्थभन्दा माथि राखेर सबै पक्षसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै क्षेत्रको दीगो समृद्धिका लागि आफू निरन्तर सक्रिय रहने बताएका छन्।

“नवलपुर–१ को समृद्धि र नागरिकको जीवनस्तर उकास्ने अभियानमा म प्रतिबद्ध छु,” उनले दृढतापूर्वक भने।

पत्रकार सम्मेलनमा स्थानीय नेता, कार्यकर्ता तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। अब निर्वाचन नजिकिँदै जाँदा सापकोटाको अभियान झनै सक्रिय बन्दै गएको देखिएको छ।

तपाईको प्रतिक्रिया