गैँडाकोट – नवलपुर–१ प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका अधिवक्ता बालकृष्ण घिमिरे शिक्षा, स्वास्थ्य, कानुन र सामाजिक सेवामा लामो समयदेखि सक्रिय रहँदै आएका एक अनुभवी तथा स्थानीय स्तरमै स्थापित राजनीतिक व्यक्तित्व हुन्। बौद्धिक क्षमता, नीतिगत सोच र सुधारमुखी दृष्टिकोणका कारण उनी नवलपुर–१ मा एक सक्षम र भरोसायोग्य उम्मेदवारका रूपमा हेरिएका छन्।
घिमिरेले राजनीति शास्त्र (M.A.) र शिक्षा शास्त्र (M.Ed.) मा स्नातकोत्तर तथा कानुन (LLB) मा स्नातक अध्ययन पूरा गरेका छन्। हाल उनी “Educational Philosophy of Buddhism in the Present Perspective” विषयमा पीएचडी अध्ययनरत छन्। उनको शैक्षिक पृष्ठभूमिले शिक्षा नीति, सामाजिक रूपान्तरण र कानुनी सुधारका विषयमा गहिरो बुझाइ विकास गरेको देखिन्छ।
कानुन व्यवसायीका रूपमा उनी नेपाल बार काउन्सिलका सदस्य हुन्। संविधान, कानुनी शासन, नागरिक अधिकार र नीतिगत सुधारका क्षेत्रमा उनको अनुभव संसदमा प्रभावकारी बहस गर्न उपयोगी हुने विश्वास गरिएको छ। कांग्रेस वृत्तमा उनलाई संसदमा कानुन निर्माण र नीतिगत छलफलमा सशक्त उपस्थिति जनाउन सक्ने उम्मेदवारका रूपमा लिइएको छ।
शिक्षा क्षेत्रमा घिमिरेको योगदान दुई दशकभन्दा लामो छ। उनी विगत २० वर्षदेखि लुम्बिनी आदर्श डिग्री कलेज, कावासोती मा प्राध्यापकका रूपमा कार्यरत छन्। उनका विद्यार्थीहरू आज निजामती सेवा, शिक्षण पेशा, प्रशासन र विभिन्न नेतृत्वदायी भूमिकामा कार्यरत छन्। शिक्षा सुधार, गुणस्तर र पहुँच विस्तार उनका प्रमुख चासोका क्षेत्र मानिन्छन्।
स्वास्थ्य क्षेत्रमा पनि उनको भूमिका उल्लेखनीय रहँदै आएको छ। घिमिरेको कार्यकालमा मध्यविन्दु जिल्ला अस्पताल स्तरोन्नति भई मध्यविन्दु प्रादेशिक अस्पताल मा रूपान्तरण गरिएको थियो। १५ शैयाबाट १०० शैयासम्म विस्तार, डायलाइसिस सेवा सञ्चालन तथा विशेषज्ञ चिकित्सकको व्यवस्थापनलाई उनका महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ।
सामाजिक सेवामा सक्रिय घिमिरे रोटरी क्लब अफ कावासोती नवलपुरका अध्यक्ष समेत रहिसकेका छन्। यस अवधिमा उनले विपन्न विद्यार्थी सहायता, रक्तदान कार्यक्रम तथा सामाजिक पूर्वाधार निर्माणमा योगदान दिएका छन्।
राजनीतिक रूपमा घिमिरेको यात्रा नेविसंघबाट सुरु भई नेपाली कांग्रेस नवलपुरको उपसभापति सम्म आइपुगेको छ। पार्टीभित्र उनी नीतिगत सुधार, सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिका पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन्।
शिक्षा, स्वास्थ्य, कानुन र सामाजिक सेवामा रहेको बहुआयामिक अनुभवका कारण अधिवक्ता बालकृष्ण घिमिरेको उम्मेदवारीले नवलपुर–१ को चुनावी प्रतिस्पर्धालाई थप अर्थपूर्ण बनाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।





















उज्यालो खबर










