गैँडाकोट – पूर्वी नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको आधिकारिक उम्मेदवारका रूपमा बालकृष्ण घिमिरे तोकिएका छन्।मुख्य निर्वाचन अधिकृत कमल ज्ञवालीले बालकृष्ण घिमिरे उम्मेदवार किटान भएको जानकारी दिएका छन्। नेपाली कांग्रेसका जिल्ला उपसभापति समेत रहेका घिमिरे सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले अघि सारेको विशेष महाधिवेशनको पक्षमा जिल्लामा खुलेर उभिने नेताका रूपमा चिनिन्छन्।
दुई दिनअघि घिमिरेसँगै गजेन्द्रबहादुर आलेले कांग्रेस सभापति गगन थापाको हस्ताक्षर भएको टिकट लिएर निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए। अन्ततः पार्टीले घिमिरेलाई आधिकारिक उम्मेदवारका रूपमा अघि सारेको हो।गैँडाकोट नगरपालिका–१२ का स्थायी बासिन्दा गजेन्द्रबहादुर आले आदिवासी समुदाय माझ लोकप्रिय नेताका रूपमा परिचित छन्। उनी गैँडाकोट क्षेत्रको मत तान्न सक्ने प्रभावशाली क्षमता राख्ने नेताका रूपमा हेरिन्छन्।
विश्लेषकहरूका अनुसार यस निर्वाचन क्षेत्रमा कांग्रेसको जित वा हारमा आन्तरिक एकता निर्णायक बन्न सक्छ। यस्तो अवस्थामा उम्मेदवारी प्रक्रियामा सहभागी भएका गजेन्द्रबहादुर आलेले अब कस्तो भूमिकामा आफूलाई उभ्याउँछन् भन्ने प्रश्न महत्त्वपूर्ण बनेको छ। यदि उनले खुलेर घिमिरेको पक्षमा सक्रिय भूमिका खेले भने गैँडाकोट क्षेत्रसहित आदिवासी समुदायको मत कांग्रेसतर्फ आकर्षित हुने सम्भावना बलियो देखिन्छ। तर आन्तरिक असन्तुष्टि कायमै रह्यो भने त्यसले निर्वाचन परिणाममा असर पार्न सक्ने भएकाले अबको उनको राजनीतिक कदमलाई जिल्लाभर चासोपूर्वक हेरिएको छ।



उज्यालो खबर




