काठमाडौं। अस्ट्रेलियाले नेपालसहित केही दक्षिण एसियाली देशका विद्यार्थीलाई उच्च जोखिम (हाइ रिस्क) श्रेणीमा राख्दै विद्यार्थी भिसा जाँच प्रक्रिया कडा बनाएको छ। अस्ट्रेलियाको शिक्षा विभागले उच्च जोखिममा रहेका देशका विद्यार्थीमाथि थप निगरानी र कडाइ गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
नयाँ व्यवस्थाअनुसार नेपाल, भारत, बंगलादेश र भुटानका विद्यार्थीको भिसा प्रक्रिया अब थप कागजात र कडा परीक्षणपछि मात्रै अगाडि बढाइनेछ। यद्यपि भिसा प्रक्रिया पूर्ण रूपमा रोकिएको भने होइन।
समाचारअनुसार अस्ट्रेलियाले सन् २०२६ जनवरी ८ देखि नयाँ नीति लागू गर्नेछ। यससँगै नेपालसहित जोखिममा राखिएका देशहरूको मूल्याङ्कन स्तर (लेभल) पनि घटाइएको छ। नेपाल यसअघि रहेको लेभल २ बाट घटेर लेभल ३ मा पुगेको छ, जसलाई उच्च जोखिमको श्रेणी मानिन्छ। भुटानको स्तर पनि लेभल २ बाट लेभल ३ मा झरेको छ।
त्यसैगरी बंगलादेश लेभल १ बाट सिधै लेभल ३ मा घटुवा भएको छ भने श्रीलंका लेभल १ बाट लेभल २ मा झरेको छ। अस्ट्रेलियाली वर्गीकरणअनुसार लेभल १ कम जोखिम, लेभल २ मध्यम जोखिम र लेभल ३ उच्च जोखिम मानिन्छ।
अस्ट्रेलियाले यो कदम बैंकिङ कागजात र शैक्षिक प्रमाणपत्रमा शंका बढेपछि चालेको जनाएको छ। पछिल्लो समय नक्कली वा अविश्वसनीय कागजात पेस भएको आशंकाका कारण भिसा प्रणालीमा कडाइ गरिएको हो।
अब विद्यार्थी भिसाका लागि भाषा दक्षता प्रमाण, वित्तीय विवरण, शैक्षिक प्रमाणपत्र र अस्ट्रेलिया जान चाहनुको वास्तविक मनसाय (Genuine Student Evidence) सहितका कागजात कडाइका साथ अध्ययन गरिनेछ। सबै पक्ष विश्वसनीय देखिएपछि मात्र भिसा स्वीकृत गरिने अस्ट्रेलियाली अधिकारीहरूको भनाइ छ।
नयाँ नीतिका कारण विद्यार्थी भिसा प्रक्रिया लामो हुन सक्ने र कागजात तयारी तथा प्रक्रिया खर्च अझै बढ्न सक्ने अनुमान गरिएको छ। यसले अस्ट्रेलिया अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई थप तयारी र सावधानी अपनाउनुपर्ने अवस्था सिर्जना गरेको छ।





















उज्यालो खबर










