गैंडाकोट गैंडाकोट नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन भइरहेका घुमन्ते तथा दर्ता नभएका व्यापार–व्यवसायमा भोलिदेखि प्रतिबन्ध लागू गर्ने भएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार व्यवसाय दर्ता नगरी कुनै पनि व्यापार सञ्चालन गर्न नपाइने कानुनी प्रावधान कार्यान्वयन गर्न यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार २०८२ माघ १ गतेदेखि, सार्वजनिक स्थान, सडक, चोक, फुटपाथमा सामान बिक्री गर्ने, साथै ठेला, साइकल, रिक्सा, अटो लगायतका साधन प्रयोग गरी सञ्चालन भइरहेका दर्ता नभएका व्यवसायहरू पूर्ण रूपमा निषेध गरिनेछ।
नगरपालिकाले जारी गरेको सूचनामा भोलिदेखि लागू हुने यस निर्णयको उल्लङ्घन गरी अवैध रूपमा व्यापार सञ्चालन गरेको पाइएमा गैंडाकोट नगरपालिकाको ऐन बमोजिम कारबाही तथा जरिवाना गरिने उल्लेख छ।
यसैगरी, नगर क्षेत्रमा व्यापार सञ्चालन गर्न चाहने सम्पूर्ण व्यवसायीलाई आवश्यक कागजातसहित आ–आफ्नो वडा कार्यालयमा गई व्यवसाय दर्ता गर्न नगरपालिकाले आग्रह गरेको छ। साथै नगर क्षेत्रभित्र कतै घुमन्ते वा अवैध व्यवसाय सञ्चालन भइरहेको देखिएमा नगरवासीलाई प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराउन अनुरोध गरिएको छ।
नगरपालिकाले नगरको सुव्यवस्था, सार्वजनिक स्थानको संरक्षण तथा व्यवस्थित व्यापार प्रणाली विकास गर्ने उद्देश्यले यो कदम चालिएको जनाएको छ।





















उज्यालो खबर










