गैँडाकोट- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने संघीय निर्वाचनका लागि नवलपुर क्षेत्र नम्बर १ बाट राजन गौतमलाई आफ्नो उम्मेदवार बनाउने निर्णय गरेको छ। आज देवचुलीमा बसेको क्षेत्रीय समितिको बैठकले गौतमलाई उम्मेदवार बनाउने विषयमा एकमत सिफारिस गरेको हो।
बैठकमा क्षेत्र नं १ का ३० वडाका सभापतिहरू पनि सहभागी भएका थिए र सबैले गौतमलाई उम्मेदवार बनाउने पक्षमा सहमति जनाएका थिए। पार्टीका क्षेत्र नं १ का सभापति हरि पराजुलीले भने, “गौतमनै सबैभन्दा बलियो उम्मेदवार हुन्। उहाँमा क्षेत्रीय मतदाताको विश्वास र पार्टीभित्र व्यापक समर्थन दुवै छ, त्यसैले उनलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो।”
राजन गौतम यसअघि पनि काँग्रेसका डा. शंसाक कोइरालासँग कडा प्रतिस्पर्धा गर्दै निर्वाचनमा सहभागी भइसकेका छन्। त्यतिबेला उनले क्षेत्रीय मतदाताबीच राम्रो प्रभाव छोडेका थिए र यसपटक पनि उनलाई उम्मेदवार बनाइँदा पार्टीभित्रै र क्षेत्रीय तहमा बलियो उम्मेदवारीको संकेत प्राप्त भएको देखिन्छ।
विशेषतः वडास्तरबाट प्राप्त एकमत समर्थनले गौतमको उम्मेदवारी अझ प्रबल बनाएको छ। वडास्तरका सभापतिहरूले पनि बैठकमा स्पष्ट रूपमा गौतमको पक्षमा आफ्नो समर्थन व्यक्त गरेका थिए। राजन गौतमको उम्मेदवारी घोषणासँगै क्षेत्र नं १ मा चुनावी गतिविधि सुरु भइसकेको छ र पार्टीले आगामी निर्वाचनका लागि पूर्ण तयारीमा ध्यान केन्द्रित गर्ने बताएको छ।





















उज्यालो खबर










