गैँडाकोट- नेपाली कांग्रेसका महामन्त्रीद्वयले पुस २७ र २८ गते काठमाडौंमा आह्वान गरेको विशेष महाधिवेशनमा पूर्वी नवलपरासीका करिब दुई तिहाइ महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन्।
पूर्वी नवलपरासीका दुई निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने ५० जना महाधिवेशन प्रतिनिधिमध्ये ४२ जना विशेष महाधिवेशनमा सहभागी हुने दाबी कांग्रेस नवलपरासीका जिल्ला उपसभापति बालकृष्ण घिमिरेले गरेका छन्। उनका अनुसार जिल्लाका आठवटै पालिकाका पार्टी सभापतिहरू समेत विशेष महाधिवेशनको पक्षमा खुलेर लागेका छन्।
कांग्रेस केन्द्रीय सदस्य डा. शशांक कोइराला पक्षधर रहेका ८ जना महाधिवेशन प्रतिनिधि भने विशेष महाधिवेशनको विपक्षमा उभिएका छन्। महामन्त्रीद्वयले बोलाएको महाधिवेशनमा सहभागी नहुनुपर्ने अडान लिँदै आएका कोइरालाको यस जिल्लामा विरोध सुरु भएको कांग्रेस नेताहरूले बताएका छन्।
विशेष महाधिवेशनको माग गर्दै अघिल्लो महिना पूर्वी नवलपरासीका ३५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर अभियान चलाएका थिए। उक्त अभियानको नेतृत्व गरेका उपसभापति घिमिरेका अनुसार जिल्ला सभापति महेन्द्रध्वज जीसीसहित ४२ जना महाधिवेशन प्रतिनिधिका लागि पुस २६ गते काठमाडौं जाने व्यवस्था गरिएको छ।
जिल्लामा डा. शशांक कोइरालासहित ८ जना प्रतिनिधि विशेष महाधिवेशनको विपक्षमा देखिए पनि उनीहरू अल्पमतमा परेको दाबी कांग्रेस नेताहरूको छ। पछिल्ला दिनहरूमा पार्टी सभापति शेरबहादुर देउवाको पछि लागेर डा. कोइरालाले ‘जेन–जी आन्दोलन’ र पार्टी विधानको मर्मविपरीत काम गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ।
पूर्वी नवलपरासीमा महाधिवेशन प्रतिनिधिमध्ये २ जना भने राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिसकेका छन्।



उज्यालो खबर




