×

चितवन । उद्योग वाणिज्य संघ चितवनको ५९औँ साधारणसभा तथा अधिवेशनबाट चिरञ्जिवि सुवेदी अध्यक्षमा निर्वाचित भएका छन्। कडा प्रतिस्पर्धाका बीच सुवेदीले अध्यक्षका प्रत्यासी शिरिष पन्तलाई २९९ मतान्तरले पराजित गर्दै संघको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हुन्।

निर्वाचन परिणामअनुसार सुवेदीले १ हजार ४८४ मत प्राप्त गर्दा पन्तले १ हजार १८५ मतमा सीमित भए। व्यवसायी समुदायको उल्लेखनीय सहभागिताबीच सम्पन्न निर्वाचनले संघमा नयाँ नेतृत्वप्रति उच्च अपेक्षा देखाएको छ।

वरिष्ठ उपाध्यक्षमा सुवेदी प्यानलका राजेन्द्र ओली विजयी भएका छन् भने उपाध्यक्ष पदमा नारायण प्रधान र राजन पियाले सफलता हात पारेका छन्। अर्का उपाध्यक्षमा भने पन्त प्यानलका जनक पौडेल निर्वाचित भएका छन्। संघका अन्य अधिकांश सदस्य पदमा पनि सुवेदी प्यानलकै उम्मेदवार विजयी भएका छन्।

सोमबार सम्पन्न मतदानमा कुल ३ हजार ३ सय ७१ मतदातामध्ये २ हजार ७ सय १९ मत खसेको थियो, जसले व्यवसायीहरूको सक्रिय सहभागिता झल्काएको छ।

हरेक दुई–दुई वर्षमा अधिवेशन हुने संघको नयाँ नेतृत्वले चितवनको उद्योग–व्यवसाय प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण र निजी क्षेत्रको हकहितमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया