चितवन – चितवनको व्यस्त व्यवसायिक केन्द्रमा जब परिवर्तन र उत्तरदायी नेतृत्वको चर्चा हुन्छ, त्यहीँ एक नाम लगातार अगाडि आउँछ—शिरिष पन्त। स्पष्ट दृष्टिकोण, ऊर्जा र परिणाममुखी सोचका कारण पन्त आज सफल उद्यमी मात्र नभई चितवनको व्यवसायिक नेतृत्वमा नयाँ सम्भावनाको संकेतका रूपमा हेरिन थालेका छन्।
पछिल्ला २१ वर्षदेखि निर्माण सामग्री तथा हार्डवेयर व्यवसायमा संलग्न पन्त पछिल्ला तीन वर्षदेखि विद्युत् व्यवसायमा समेत सक्रिय हुनुहुन्छ। लामो अनुभव, निरन्तर प्रयोग र व्यावहारिक सिकाइले उहाँलाई जोखिम लिन सक्ने, निर्णयमा दृढ र परिणामप्रति उत्तरदायी बनाएको व्यवसायीहरू बताउँछन्। पन्तका अनुसार व्यवसाय नाफा–नोक्सानको हिसाबमा मात्र सीमित हुँदैन, यसले समाजप्रतिको जिम्मेवारी र नेतृत्वको अभ्यास पनि माग्छ।
व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि पन्तको सक्रियता उल्लेखनीय छ। लायन्स क्लब अफ चितवन राइजका अध्यक्ष, रोटरी क्लबका सदस्य, वागीश्वरी आध्यात्मिक परिषद्का आजीवन सदस्य, नेपाल हार्ट फाउन्डेसनका विशिष्ट सदस्य तथा नारायणी नमुना माध्यमिक विद्यालय एलुम्नाइका अध्यक्षका रूपमा उहाँ विभिन्न सामाजिक गतिविधिमा निरन्तर संलग्न रहँदै आउनुभएको छ । यी भूमिकाले उहाँको सामाजिक प्रतिबद्धता र नेतृत्व क्षमतालाई थप उजागर गर्छन्।
उद्योग वाणिज्य संघमा पन्तको भूमिका औपचारिकतामा सीमित नभई व्यवहारिक पहलमा केन्द्रित देखिन्छ। सदस्य व्यवसायीहरूलाई स्वास्थ्य सेवामा छुट दिलाउने पहल, फुटपाथ अतिक्रमण हटाउने अभियान, विज्ञापन कर र घरबहाल करको अव्यवस्थित प्रणालीविरुद्ध आवाज उठाउनेदेखि पार्किङ समस्याको समाधान खोज्ने प्रयाससम्म उहाँ सक्रिय रहनुभएको छ। कोभिड–१९ महामारीका बेला प्रभावित व्यवसायीहरूलाई घरभाडामा छुट दिलाउन गरिएको पहललाई पनि व्यवसायीहरूले संवेदनशील नेतृत्वको उदाहरणका रूपमा लिएका छन्।
पन्तले अघि सारेको कार्यक्रम ३० बुँदामा आधारित छ। यद्यपि उहाँ योजनाको सूचीभन्दा कार्यान्वयनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुहुन्छ। कम्तीमा २० बुँदा अनिवार्य रूपमा पूरा गरेर देखाउने प्रतिबद्धतासहित उहाँ व्यवसायीहरूको विश्वास जित्ने प्रयासमा हुनुहुन्छ। विगतमा अधुरा आश्वासनप्रति उठेका आलोचनालाई स्मरण गर्दै पन्त भन्छन्, “नेतृत्व शब्दबाट होइन, कर्मबाट प्रमाणित हुनुपर्छ।”
युवामा जिम्मेवारीको भावना जगाउने, व्यवसायीहरूमा आत्मविश्वास बढाउने र संस्थागत सुधारका लागि निरन्तर पहल गर्ने पन्तको नेतृत्वलाई चितवनको व्यवसायिक संरचनामा सकारात्मक परिवर्तनको संकेतका रूपमा हेरिएको छ। उहाँको उपस्थिति केवल पदको दाबी नभई उत्तरदायी, सशक्त र पारदर्शी नेतृत्वको अभ्यासका रूपमा बुझ्न सकिन्छ।
शिरिष पन्तको यात्रा व्यवसायको मात्र कथा होइन; यो साहस, निरन्तरता र प्रतिबद्धताको कथा हो। जहाँ धेरैले योजना बनाएर रोकिन्छन्, उहाँ त्यहीँबाट काम सुरु गर्नुपर्ने धारणा राख्नुहुन्छ। चितवनको व्यवसायिक यात्रामा यो नेतृत्वले लेख्न लागेको नयाँ अध्यायलाई धेरैले आशाका साथ नियालिरहेका छन्।



उज्यालो खबर




