भरतपुर-नौरङ्गे टोल आमा समूहको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सीतादेवी पराजुलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
भरतपुर महानगरपालिका–१२ का वडा अध्यक्ष लेखराज पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा टोल अध्यक्ष, वडा सदस्य, टोलका सल्लाहकारहरू, नौरङ्गे क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आमा समूहकी अध्यक्ष मनकुमारी जिसीको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनमा मिरा घिमिरेको संयोजकत्वमा संगिता थापा र शिला घिमिरे सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिले सम्पूर्ण प्रक्रिया पूरा गरी निर्विरोध निर्वाचन सम्पन्न गराएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष लेखराज पन्तले महिला दिदीबहिनीहरू उद्यमशील बन्न इच्छुक भएमा वडाले आवश्यक सहयोग, सहजीकरण र समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले महिला सशक्तीकरण टोल तथा समाज विकासको आधार भएको उल्लेख गर्नुभयो।
संस्थाका सल्लाहकार मदनकृष्ण घिमिरे तथा आमा समूहका जन्मदाताका रूपमा परिचित निवर्तमान टोल अध्यक्ष सन्तोष पन्तले आमा समूहले टोल विकास, सामाजिक एकता र सांस्कृतिक संरक्षणमा पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभयो।
त्यसैगरी मनोरञ्जन तथा सांस्कृतिक समूहकी संयोजक रुपा जिसीले टोलमा आयोजना हुने विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रममा आमा समूहको सक्रिय सहभागिताले टोल विकासलाई थप सशक्त बनाउने भन्दै सबै दिदीबहिनीहरूलाई एकताबद्ध भएर अघि बढ्न अनुरोध गर्नुभयो।
सचिव अप्सरा श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा २०० भन्दा बढी स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।



उज्यालो खबर




