झापा- भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको एटीआर–७२ जहाज अवतरणका क्रममा दुर्घटनामा परेको छ। काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको उक्त जहाज राति करिब ९ः१० बजे अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई घाँसे झाडी र माटोमा भासिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए। दुर्घटनामा ललितपुर–४ निवासी २४ वर्षीय को–पाइलट सुशान्त श्रेष्ठसहित ७ जना घाइते भएका छन्।
घाइते यात्रुहरूमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं–१६ की ४० वर्षीया मुना घतानी र काठमाडौं–१६ की १६ वर्षीया प्रिया घतानी रहेका छन्।
घाइतेहरूलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्काल भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पताल पुर्याएको थियो। टाउको र अनुहारमा चोट लागेका को–पाइलट सुशान्त श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ भने अन्य छ जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिए।
जहाज शुक्रबार राति ८ः२३ बजे काठमाडौंबाट उडेको थियो। दुर्घटनालगत्तै प्रहरी उपरीक्षक लिम्बुको कमान्डमा ७० जना प्रहरीको टोली उद्धारका लागि खटिएको थियो। प्रहरीले सबै यात्रुलाई सकुशल जहाजबाट बाहिर निकाली घाइतेलाई उपचारका लागि अस्पताल पुर्याएको जनाएको छ।



उज्यालो खबर




