×

गुल्मी -गुल्मीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक नाबालक घाइते भएका छन्।

जिल्लाको मालिका गाउँपालिका–६ राम्चेमा शुक्रबार बिहान करिब ८ बजे लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइकल चालक ३६ वर्षीय वसन्त अर्याल र ६० वर्षीया मनकला अर्यालको मृत्यु भएको वडा नं. ६ का वडाध्यक्ष दीपक भण्डारीले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकलमा सवार ६ वर्षीय अनुभव गिरी घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकल पोखराबारीबाट राम्चेतर्फ जाँदै गरेको र बस विपरीत दिशाबाट आइरहेको बताइएको छ।

वडाध्यक्ष भण्डारीका अनुसार सोही बसले पैदल हिँडिरहेकी ४२ वर्षीया लीला अर्याललाई पनि ठक्कर दिएको थियो। उनी कमलपोखरी माध्यमिक विद्यालयमा शिक्षण पेशामा संलग्न रहेकी छन् र हाल घाइते अवस्थामा उपचाररत छन्।

उक्त बस स्थानीय एक बोर्डिङ स्कुलका शिक्षक तथा विद्यार्थीहरूलाई वनभोजका लागि लिएर जाँदै गरेको र स्कुलबाट करिब २० मिटर अगाडि बढ्ने बित्तिकै दुर्घटना भएको बताइएको छ।

मृतक वसन्त अर्याल अर्जै, छाप, घमिर, अमरपुर र ईस्मा क्षेत्रमा पठाओ चालकको रूपमा काम गर्दै आएका थिए। मनकला अर्याल राम्चे नजिकै पौवामा रहेका नाबालक अनुभवलाई लिन वसन्तसँग गएकी र फर्किने क्रममा दुर्घटनामा परेको खुलेको छ।

दुर्घटनापछि बस चालक गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसिथोक निवासी ४१ वर्षीय चुरा बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइतेहरूको उपचार तथा मृतकको शव पोस्टमार्टमका लागि तम्घास पठाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया