×

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीचको सम्भावित गठबन्धनले बालेनको स्वतन्त्र छविमा नकारात्मक असर पार्ने दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बस्नेतले विवादमा परिरहेका रवि लामिछानेको नेतृत्वमा रहेको दलसँगको सहकार्यले बालेन साहको लोकप्रियता घट्दै जाने बताएका हुन्। उनका अनुसार बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको भए पनि विवादित राजनीतिक पात्रसँग जोडिँदा त्यो आकर्षण टिक्न नसक्ने देखिन्छ।

बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिप्रति समेत प्रश्न उठाउँदै पुराना दललाई सराप्ने र सत्तामा पुग्ने प्रयास बाहेक स्पष्ट विचार, दिशा र दीर्घकालीन भिजनको अभाव रहेको टिप्पणी गरेका छन्। यस्तो अवस्थामा जनतासँगको दूरी बढ्दै जाने र जनमत कमजोर हुँदै जाने उनको भनाइ छ।

भदौ २४ गते राज्य र लोकतन्त्रका आधार स्तम्भमाथि आक्रमण गरेर देशलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र रचिएको दाबी गर्दै बस्नेतले त्यसमा बालेन साह र रवि लामिछानेको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका देखिनु गम्भीर विषय भएको उल्लेख गरेका छन्। साथै, उक्त घटनामा माओवादी र राजावादी धारहरूको समर्थन देखिनु चिन्ताजनक भएको उनले बताएका छन्।

नेपाली राजनीतिमा नयाँ अनुहारलाई सधैं आशाका रूपमा प्रस्तुत गरिने तर समयक्रममा ती पनि विवादमा फस्दै गएको उदाहरण दिँदै बस्नेतले “अनुहार फेरिँदैमा देश फेरिँदैन” भन्ने तर्क अघि सारेका छन्। नगरपालिका नै प्रभावकारी रूपमा परिवर्तन गर्न नसक्ने व्यक्तिले देश परिवर्तन गर्छ भन्ने भ्रम पनि क्रमशः समाप्त हुँदै गएको उनको भनाइ छ।

आगामी निर्वाचनको सन्दर्भमा उनले राज्यका संरचना जलाउने अराजक धार रोज्ने कि ती संरचना जोगाउने र विधिको शासन कायम गर्ने राजनीतिक शक्तिलाई साथ दिने भन्ने मुख्य प्रश्न हुने बताए। उनका अनुसार राज्य संरचना जोगाउने जिम्मेवारी पुराना दलहरूले नै वहन गर्नुपर्ने यथार्थ देखिएको छ।

बस्नेतले समस्या पुराना दलको अस्तित्व नभई तिनमा देखिएका विकृति भएको उल्लेख गर्दै समाधान नयाँ दल खोल्नु नभई पुराना दललाई परिमार्जन गर्दै राजनीति सुधार गर्नु आवश्यक रहेको बताएका छन्। व्यक्तिवादी स्वार्थमा केन्द्रित अभियानले दीर्घकालीन सुधार सम्भव नहुने उनको निष्कर्ष छ।

उनले संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरू गम्भीर घडीमा एकजुट हुनुपर्नेमा जोड दिँदै, नत्र नयाँ बोतलमा पुरानै रक्सी पिइरहँदा जनता बारम्बार उही भ्रमको सिकार भइरहने चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया