×

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच मध्यराति भएको भनिएको समझदारीलाई सकारात्मक रूपमा लिँदै रवि लामिछानेका दाजु तथा रेडियोकर्मी हरिशरण लामिछानेले काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।

लामिछानेले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिमा दुई भाइबीचको समझदारीप्रति सम्मान र खुशी व्यक्त गर्दै आगामी स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको भावी मेयर पदमा आफ्नो स्वतन्त्र उम्मेदवारी रहने प्रबल सम्भावना रहेको जानकारी गराएका छन्।

‘दुई भाइको सम्झौताप्रति सम्मान र खुशी व्यक्त गर्दै काठमाडौँ महानगरपालिकाको भावी मेयर पदमा मेरो स्वतन्त्र उम्मेदवारी रहने प्रबल सम्भावना रहेको जानकारी गराउँदछु,’ उनले भनेका छन्।

हरिशरण लामिछाने रेडियो नेपालबाट सेवानिवृत्त वरिष्ठ रेडियोकर्मी हुन्। उनी भदौ महिनामा भएको तथाकथित ‘जेन्जी आन्दोलन’ का क्रममा रेडियो नेपालको स्टुडियोमा प्रवेश गरी करिब १५ मिनेटभन्दा बढी समय राष्ट्रिय प्रसारण नियन्त्रणमा लिएपछि चर्चामा आएका थिए।

उनको उम्मेदवारी घोषणाले काठमाडौँको स्थानीय राजनीति थप रोचक बन्ने संकेत देखिएको छ। आगामी दिनमा उनको उम्मेदवारी औपचारिक रूपमा दर्ता हुने–नहुने विषय भने खुल्न बाँकी छ।

तपाईको प्रतिक्रिया