×

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच एकता गर्ने सहमति भएको छ। उनीहरूबीच  ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापतिमा रवि लामिछाने रहनेछन् भने आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सारिने भएको छ।

सम्झौतामा पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने, चुनाव चिन्ह घण्टी कायम रहने तथा केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने उल्लेख गरिएको छ। पार्टीको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो रङको घण्टी रहने सहमति भएको छ।

७ बुँदे सम्झौतामा भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाहरूले सञ्चालन गरेको आन्दोलनको अपनत्व लिने, आन्दोलनका क्रममा घाइते तथा शहीद परिवारका मागहरूलाई उचित रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ। साथै, गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत अर्को १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्य लिइएको छ।

एकता पश्चात पार्टी संगठनलाई थप सुदृढ र फराकिलो बनाउँदै युवा अभियन्ता र अनुभवी विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिइने उल्लेख छ। सम्झौताअनुसार पार्टीसम्बन्धी आवश्यक कागजात निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ।

त्यसैगरी लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा सहकार्य गर्न अन्य परिवर्तनकामी राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा गोलबद्ध हुन आह्वान गरिएको छ।

सम्झौतापत्रमा रास्वपाका सभापति रवि लामिछाने र मेयर बालेन्द्र शाहले हस्ताक्षर गरेका छन्। सम्झौता १३ पुस २०८२ मा काठमाडौंमा सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया