×

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच कुपन्डोलमा गोप्य छलफल भइरहेको छ। बालेनका सहयोगी कुमार व्यञ्जनकारको निवासमा दुई जनाबीच एक्लाएक्लै कुराकानी चलिरहेको हो।

छलफलका लागि रवि लामिछानेसँगै रास्वपाका पूर्व सांसद असिम शाह कुपन्डोल पुगेका छन्। त्यस्तै, हामी नेपाल संस्थाका संस्थापक तथा जेन–जी अभियन्ता सुदन गुरुङ पनि त्यहाँ उपस्थित छन्। गुरुङले छलफल निष्कर्षमा नपुगेसम्म कसैलाई बाहिर निस्कन नदिने भन्दै गेटमै बसिरहेको बताएका छन्।

यसअघि रवि लामिछाने र बालेन शाहबीच काठमाडौंको कमलपोखरीमा करिब ६ घण्टा लामो छलफल भएको थियो। तर उक्त भेटमा रविका तर्फबाट ठोस प्रस्ताव नआएको भन्दै बालेनले अन्य राजनीतिक विकल्पबारे छलफल अघि बढाएका थिए। बालेन ‘लौरो’ चुनाव चिन्ह भएको देश विकास पार्टीबाट राजनीति अघि बढाउने गृहकार्यमा समेत जुटेका छन्।

बालेन आगामी निर्वाचनमा संसदीय दलको नेता र प्रधानमन्त्री सुनिश्चित हुने स्पष्ट खाका चाहन्छन्। यद्यपि रवि लामिछानेले अहिलेसम्म बालेनलाई प्रधानमन्त्रीका रूपमा औपचारिक प्रस्ताव गरिसकेका छैनन्। आजको छलफलले दुवै नेता मिलेर अघि बढ्ने वा छुट्टाछुट्टै राजनीतिक बाटो रोज्ने भन्ने टुंगो लाग्ने बताइएको छ।

तपाईको प्रतिक्रिया