×

गैँडाकोट- गैँडाकोटस्थित अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टका संस्थापक प्रिन्सिपल प्राध्यापक ई. डा. हरि भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय भण्डारीको पार्टी प्रवेशलाई चितवन र नवलपुर क्षेत्रको राजनीतिमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ।

रास्वपाको केन्द्रीय कार्यालय बसुन्धरा स्थित घण्टीघरमा आयोजित कार्यक्रममा पार्टी  उपसभापति डिपी अर्याल र स्वर्णीम वाग्लेले भण्डारीलाई स्वागत गरे। कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरू तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

शिक्षा क्षेत्रबाट राजनीतिमा आएका भण्डारी बौद्धिक, व्यवस्थापकीय र योजनामुखी व्यक्तित्वका रूपमा परिचित छन्। प्रत्यक्ष राजनीतिमा सक्रिय नभए पनि शैक्षिक नेतृत्व र सामाजिक योगदानका कारण उनी स्थानीय स्तरमा चिनिएका व्यक्ति हुन्। रास्वपाले पछिल्लो समय पेशागत र शिक्षित वर्गलाई पार्टीमा आकर्षित गर्ने रणनीति अपनाइरहेको सन्दर्भमा भण्डारीको प्रवेशलाई महत्वपूर्ण मानिएको छ।

पार्टी प्रवेशपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै भण्डारीले देश बचाउने र बनाउने एकमात्र पार्टी हाल रास्वपा भएको ठहर गर्दै त्यसै कारण आफू रास्वपामा प्रवेश गरेको बताए। “अबको राजनीति सत्ता होइन, सेवा र जिम्मेवारीमा आधारित हुनुपर्छ,” उनले भने।

भरतपुर महानगरपालिका वडा नं. २ निवासी भण्डारीलाई आगामी संघीय निर्वाचनमा रास्वपाले चितवनबाट उम्मेदवार बनाउन सक्ने चर्चा समेत सुरु भएको छ। यदि उम्मेदवारी तय भएमा चितवनको राजनीतिक प्रतिस्पर्धा थप रोचक र चुनौतीपूर्ण बन्ने देखिन्छ।

राजनीतिक विश्लेषकहरूका अनुसार रास्वपाले यस्ता शिक्षित र ‘क्लिन इमेज’ भएका व्यक्तिहरूलाई अघि सारेर वैकल्पिक राजनीतिक शक्तिको पहिचान बलियो बनाउन खोजिरहेको छ। भण्डारीको प्रवेश सोही रणनीतिको निरन्तरता भए पनि जनस्तरसँगको संगठन र विश्वास विस्तार गर्नु पार्टीका लागि मुख्य चुनौती रहनेछ।डा. भण्डारीको रास्वपा प्रवेशले स्थानीय राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने विषय आगामी राजनीतिक गतिविधि र निर्वाचन प्रक्रियाले स्पष्ट पार्नेछ।

तपाईको प्रतिक्रिया