×

चितवनको भरतपुर महानगरपालिकाले सहरलाई सुरक्षित बनाउने उद्देश्यले सिसी क्यामेरा जडानको काम सुरु गरेको छ । महानगरका २९ वटै वडाका मुख्य–मुख्य स्थान गरी २०० भन्दा बढी ठाउँमा क्यामेरा जडान गरिँदैछ ।

सोमबार आयोजित कार्यक्रममा महानगरपालिका प्रमुख रेनु दाहालले क्यामेरा जडानको औपचारिक शुभारम्भ गर्नुभयो । यो काम नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा भइरहेको छ ।

महानगरपालिकाका अनुसार कुल ४१८ वटा उच्च क्षमताका सिसी क्यामेरा जडान गरिनेछ । तीमध्ये चारवटा अटोमेटिक नम्बर प्लेट पहिचान गर्ने क्यामेरा पनि रहनेछन् । क्यामेरा जडानको काम सिनजी आइटी सोलुसन प्रालिले करिब ५ करोड ५८ लाख रुपैयाँ लागतमा गर्दैछ ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख दाहालले सुरक्षित र भयरहित सहर बनाउने लक्ष्यका साथ यो योजना सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार सिसी क्यामेराले अपराध नियन्त्रणमा मद्दत पुग्नेछ ।

महानगरपालिकाले यसअघि २०६ किलोमिटर सडकमा स्मार्ट बत्ती जडान गरिसकेको छ । साथै ९१ वटा चोकमा हाइमास्ट बत्ती राखिएको छ । अब छ वटा चोकमा ट्राफिक लाइट पनि जडान गरिने योजना रहेको छ ।

सबै क्यामेराको निगरानी जिल्ला प्रहरी कार्यालयमा रहेको कन्ट्रोल रुमबाट गरिनेछ । क्यामेरा नेपाल टेलिकमको फाइबर इन्टरनेटमार्फत सञ्चालन हुनेछन् ।

उपप्रमुख चित्रसेन अधिकारीले क्यामेराले जनतालाई सुरक्षित महसुस गराउने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद पौडेलले जडान गरिएका क्यामेराको संरक्षण आवश्यक रहेको बताउनुभयो । नेपाल टेलिकम र प्रहरी प्रशासनले क्यामेराको प्रभावकारी प्रयोगका लागि सहकार्य गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया