×

चितवन- नेपाली सेनाको श्री नयाँ सबूज गणको आयोजना, इच्छाकामना गाउँपालिकाको समन्वय र कलेज अफ मेडिकल साइन्सेस (CMS) को प्राविधिक सहकार्यमा चितवनको इच्छाकामना गाउँपालिका–७, गर्दासमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शिविरमा श्री मध्य पृतना हे.क्वा.का पृतनापति उपरथी  विष्णु कुमार खड्का, श्री नं.७ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी  कमल बानिया, श्री नयाँ सबूज गणका गणपति प्रमुख सेनानी  दिनेश लामा र इच्छाकामना गाउँपालिकाका अध्यक्ष  दानबहादुर गुरुङ  सहभागी थिए।

विशेषज्ञ डाक्टरहरूको टोलीले जनरल फिजिसियन, छाला तथा यौन रोग, दन्त रोग, ENT, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, मधुमेह र बाल रोगसम्बन्धी सेवा उपलब्ध गराएको थियो। साथै, USG, भिडियो एक्सरे, ईसीजी, मधुमेह तथा रक्तचाप परीक्षण र आवश्यक औषधि वितरण समेत निःशुल्क गरिएको थियो।

शिविरबाट इच्छाकामना गाउँपालिकाका १३९ महिला, ७४ बालबालिका र ६२ पुरुष लाभान्वित भएका छन्। दुर्गम क्षेत्रका नागरिकको प्रारम्भिक स्वास्थ्य समस्या पहिचान, उपचार र स्वास्थ्य सचेतना अभिवृद्धिमा यस शिविरले महत्वपूर्ण योगदान पुर्‍याएको छ।

स्वयंसेवक र स्थानीय जनप्रतिनिधिहरूको सक्रिय सहभागिताले शिविरलाई व्यवस्थित र प्रभावकारी बनाएको थियो। नेपाली सेनाको यस किसिमको मानवीय पहलले सेना र नागरिकबीचको सम्बन्ध थप प्रगाढ र विश्वासिलो बनाएको छ।

तपाईको प्रतिक्रिया