×

चितवन – नेपाल लेयर्स कुखुरापालक संघको अध्यक्षमा विनोद पोखरेल तेस्रो पटक निर्विरोध निर्वाचित हुनुभएको छ । भरतपुरमा आज सम्पन्न संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नवनिर्वाचित समितिको प्रथम उपाध्यक्षमा जोतेन्द्र श्रेष्ठ, द्वितीय उपाध्यक्षमा अमोद खनाल, महासचिवमा भेषराज अर्याल, सचिवमा मदन पोखरेल, सहसचिवमा विवेक निरौला र कोषाध्यक्षमा प्रकाश चापागाईं चयन हुनुभएको छ । त्यस्तै, वरिष्ठ सदस्यमा राजेन्द्र लामिछाने रहनुभएको छ ।

सदस्यहरूमा राजु अधिकारी, संजिव खनाल, ललित जिसी, गंगाराम भट्टराई, भरत शर्मा, ध्रुव शर्मा र कृष्ण आले चयन हुनुभएको छ । संघले सुनिलकुमार शाक्य, त्रिलोचन कँडेल, शिजीप्रसाद कलवार र ठाकुरप्रसाद भट्टराईलाई सल्लाहकारमा मनोनयन गरेको छ ।

साधारणसभालाई सम्बोधन गर्दै पशु सेवा विभागका महानिर्देशक डा. रामानन्द तिवारीले निजी क्षेत्रको पहलमा विज्ञ समूहबाट अण्डाको लागत मूल्य निर्धारण गरिएकोमा प्रशंसा गर्नुभयो । हालै संघले विज्ञ समूह गठन गरी अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा कायम गरेको थियो । कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापकहरूको अध्ययनका आधारमा मूल्य प्रस्ताव गरिएको हो । उपभोक्ता र किसान दुवैलाई लाभ हुने गरी लागत मूल्य तय भएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो ।

महानिर्देशक तिवारीले अब अण्डाको खपत बढाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै नेपालीको दैनिक भोजनमा अण्डालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले ठूलो लगानी गर्ने व्यवसायीहरूले संस्थागत नेतृत्व गर्दा जिम्मेवार भूमिका खेल्नुपर्ने बताउनुभयो । नयाँ प्रविधिको प्रयोगमार्फत लागत घटाउनुपर्नेमा उहाँको जोड थियो ।

पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले लागतअनुसारको मूल्य नपाउँदा धेरै किसान विस्थापित भएको उल्लेख गर्दै अब निर्धारण गरिएको लागत मूल्य किसानले पाउने गरी बजार व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । निजी क्षेत्रको सक्रियताले पोल्ट्री क्षेत्र पुनः सुधारको बाटोमा लागेको उहाँले बताउनुभयो ।

कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने र नेपाल अण्डा उत्पादक संघका पूर्व अध्यक्ष त्रिलोचन कँडेलले पोखरेलको नेतृत्वमा अण्डा बजार क्रमशः सुधार हुँदै गएको बताउनुभयो । विज्ञ समूहले तय गरेको लागत मूल्यलाई सरकारले औपचारिक मान्यता दिनुपर्ने उनीहरूको माग थियो ।

नवनिर्वाचित अध्यक्ष पोखरेलले वि.सं. २०७९ असोज २९ गते संघ स्थापना भएयता देशभरका अण्डा उत्पादक र वितरकसँग समन्वय गर्दै संघलाई सुदृढ बनाइएको बताउनुभयो । संघ स्थापना नहुँदो हो त आज नेपाल अण्डामा आत्मनिर्भर नहुने उहाँको भनाइ थियो ।

साधारणसभाको अवसरमा संघलाई विभिन्न किसिमले सहयोग गर्ने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । दुई वर्षे कार्यकाल रहने संघमा हाल २५० सदस्य रहेका छन् भने यस क्षेत्रमा १५० अर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको व्यवसायीहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया