×

चितवन – नेकपा एमालेको केन्द्रीय नेतृत्व चयनका लागि चितवनका १२ जना प्रभावशाली नेताहरू चुनावी मैदानमा उत्रिएका छन्। पार्टीको शक्ति सन्तुलनमा महत्वपूर्ण मानिएको यस प्रतिस्पर्धामा उपाध्यक्षदेखि केन्द्रीय सदस्यसम्म चितवनको उल्लेखनीय उपस्थिति देखिएको छ।

उपाध्यक्ष पदका लागि वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ उम्मेदवार बनेका छन् भने महासचिव पदमा सुरेन्द्र पाण्डे ले दाबी प्रस्तुत गरेका छन्। बादल अध्यक्ष केपी शर्मा ओली समूहमा रहेकामा पाण्डे ईश्वर पोखरेल समूहको समर्थनमा छन्।

त्यसैगरी केन्द्रीय सदस्य पदका लागि चितवनका १० नेताहरू चुनावी प्रतिस्पर्धामा छन्। उम्मेदवारहरूमा पूर्व पोलिटब्युरो सदस्य देविप्रसाद ज्ञवाली, पूर्व केन्द्रीय सदस्यहरू पार्वती रावल, कृष्णभक्त पोखरेल, जगन्नाथ थपलिया, यमबहादुर परियार, कपिलप्रसाद पोखरेल, साथै प्रभा बराल, रामप्रसाद न्यौपाने, निशा अधिकारी र पुरुषोत्तम न्यौपाने रहेका छन्।

समावेशी प्रतिनिधित्वअन्तर्गत पार्वती रावल महिला खुल्ला, प्रभा बराल बागमती प्रदेश महिला, निशा अधिकारी बागमती प्रदेश युवा र रामप्रसाद न्यौपाने बागमती प्रदेश खुला कोटाबाट उम्मेदवार बनेका छन्। बाँकी उम्मेदवारहरू खुला केन्द्रीय सदस्यतर्फ प्रतिस्पर्धामा छन्।

यस्तै, कृष्णप्रसाद भुर्तेल र कृष्णप्रसाद सिलवाल ले पार्टीको अनुशासन आयोग सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

एमाले नेतृत्व चयनमा चितवनबाट देखिएको यो व्यापक सहभागिताले पार्टीको भावी शक्ति संरचना र आन्तरिक राजनीतिमा महत्वपूर्ण प्रभाव पार्ने विश्लेषण गरिएको छ।

तपाईको प्रतिक्रिया