×

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवा नेता तथा बुलिङटार गाउँपालिकाका अध्यक्ष इन्जिनियर दिपेन्द्र सुनारीले पार्टीको केन्द्रीय कमिटी सदस्य पदमा आदिवासी जनजाति युवा कोटाबाट उम्मेदवारी दर्ता गराएका छन्।

परिपक्व नेतृत्वको अनुभव, आन्दोलनबाट खारिएको राजनीतिक चेतना र सशक्त युवा जोशलाई एकसाथ बोकेर उम्मेदवारी दिएको अध्यक्ष सुनारीले बताएका छन्। लामो समयदेखि पार्टी संगठन निर्माण, वैचारिक स्पष्टता र जनताको हक–हितका लागि निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै उनले पार्टीलाई अझ सुदृढ, गतिशील र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनका अनुसार पार्टीको नीति, सिद्धान्त र अनुशासनलाई आत्मसात् गर्दै अनुभवले दिएको परिपक्वता र युवाशक्तिको ऊर्जामार्फत संगठनलाई नयाँ उचाइमा पुर्‍याउनु आफ्नो लक्ष्य हो। समावेशी प्रतिनिधित्वलाई व्यवहारमा उतार्दै राष्ट्र निर्माणको अभियानमा सबै समुदायको समान सहभागिता सुनिश्चित गर्नु आफ्नो प्रमुख एजेन्डा रहेको उनले बताए।

हाल इन्जिनियर दिपेन्द्र सुनारी नेकपा एमालेको तर्फबाट निर्वाचित देशकै कम उमेरका पालिका प्रमुखहरूमध्ये एक हुन्। साथै, उनले छिमेकी राष्ट्र चीनबाट मेकानिकल इन्जिनियरिङ विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका छन्।

केन्द्रीय कमिटी सदस्यजस्तो महत्वपूर्ण जिम्मेवारीका लागि अध्यक्ष सुनारीले पार्टीका आदरणीय नेतृत्व, प्रतिनिधि तथा सम्पूर्ण कार्यकर्तासँग साथ, सहयोग र अमूल्य मतको अपील गरेका छन्। राजनीतिक वृत्तमा उनको उम्मेदवारीलाई युवा पुस्ता र आदिवासी जनजाति समुदायको सशक्त प्रतिनिधित्वका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया