निकेश बाबु स्मृति प्रतिष्ठानको पाँचौँ वार्षिक साधारण सभाको अवसरमा सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ३३ महिला र ८६ पुरुषसहित कुल ११९ युनिट रक्त संकलन गरिएको छ।
गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी कार्यक्रमका प्रमुख अतिथि थिए। मेयर अधिकारीले रक्तदानलाई “जीवन बचाउने साझा मानवता” भन्दै नियमित रक्तसंकलन अभियानले समाजमा सकारात्मक प्रभाव पारिरहेको बताए।
प्रतिष्ठानकी अध्यक्ष चोक्षा देवी देवकोटा कँडेलले सामाजिक जिम्मेवारीका कामलाई संस्थाले सधैं प्राथमिकता दिँदै आएको र सानो योगदानले कसैको जीवन बचाउन सक्ने भावना नै अभियानको प्रेरणा भएको बताइन्।
रेडक्रस सोसाइटी गैंडाकोट आदर्श उपशाखाका सभापति उमाकान्त सापकोटाले गैंडाकोटको रक्तदान संस्कृति प्रदेशमै उदाहरणीय रहेको उल्लेख गर्दै रगत अभावका कारण कुनै पनि बिरामीले जीवन गुमाउन नपरोस् भन्ने लक्ष्यमा केन्द्रित रहेको बताए।
कार्यक्रममा सह-आयोजक पाँच संस्थाका प्रतिनिधिहरू हिरालाल अर्याल, रामकृष्ण कोइराला, गणेश अधिकारीले आ-आफ्नो संस्थाका तर्फबाट शुभकामना मन्तव्य राखे। सरस्वती निकेतन विद्यालयका सञ्चालक भरतबाबु कंडेलले स्थानीय समुदायसँग सहकार्य गरेर सामाजिक अभियानमा योगदान दिन पाउँदा विद्यालय परिवार गौरवान्वित रहेको बताए।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी गैंडाकोट आदर्श उपशाखाका उपाध्यक्ष डोलराज पाण्डेको स्वागत मन्तव्य र लक्ष्मण कंडेलको सहजीकरणमा सम्पन्न भयो।





















उज्यालो खबर










