काठमाण्डौ – नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्ने सल्लाह भएको दाबी गरेका छन्।
बस्नेतले आफ्नो फेसबुक स्टाटसमार्फत यस्तो दाबी गर्दै यसलाई ‘षड्यन्त्रको नयाँ खेल’ भनेर उल्लेख गरेका छन्। उनले लेखेका छन्, “दुई दिनअघि मात्रै प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भएको भनिएको वार्तामा ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको छ।”
बस्नेतका अनुसार, यो घटनालाई हालै जेन जेड समूहको नाममा गरिएको नाटकीय वार्ता र सम्झौता, सेलिब्रिटी हिमेश पन्त लगायतले फैलाएको भ्रम, तथा ‘ओली गिरफ्तार’ भन्ने मिडिया ट्रायलसँग जोडेर हेर्नुपर्छ। उनले भनेका छन्, “यी सबै कुरा एउटै दिशातिर संकेत गर्छन्—एमालेको आसन्न महाधिवेशन भाँड्ने, आतंक फैलाउने, सहभागिता घटाउने र अन्ततः अध्यक्ष ओलीको लोकप्रियता कमजोर पार्ने।”
उनले एमाले यस प्रकारका षड्यन्त्रको सामना गर्न पूर्णरूपमा सक्षम रहेको चेतावनी समेत दिएका छन्।



उज्यालो खबर




