×


अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाउने नयाँ कानुन लागू गरेको छ। यो नियम बुधबारदेखि लागू भएको हो।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सरकारकाे निर्णयपछि फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, एक्स, थ्रेड्स, स्न्यापच्याट, रेडिट, ट्वीच र किकजस्ता १० प्रमुख सामाजिक सञ्जाल प्लेटफर्म अब १६ वर्षमुनिका बालबालिकाले प्रयोग गर्न पाउने छैनन्।

प्रधानमन्त्री एन्थोनी अल्बानिजले यो कदमलाई अष्ट्रेलियाली अभिभावकका लागि गर्वको दिन भन्दै प्रशंसा गरेका छन्। उनका अनुसार यो निर्णय देशले अनुभव गर्न लागिरहेको “सबैभन्दा ठूलो सामाजिक र सांस्कृतिक परिवर्तनमध्ये एक” हो र यसले विश्वभर प्रभाव पार्नेछ।

बालबालिकाको मानसिक स्वास्थ्य, गलत सूचना, अनलाइन बदमासी तथा शरीर–सम्बन्धी हानिकारक सामग्रीकाे प्रभावबारे वर्षभर चलिरहेको बहसपछि सरकारले यो कडा कदम चालेको हो। धेरै अभिभावकहरूले पनि यसलाई सकारात्मक परिवर्तनकाे रूपमा स्वागत गरेका छन्।

सरकारले प्लेटफर्महरूलाई आफ्नै स्तरबाट कडा उमेर प्रमाणीकरण प्रणाली लागू गर्नुपर्ने जनाएको छ। नयाँ खाता खोल्न खोज्ने प्रयोगकर्ताको उमेर सेल्फीमार्फत अनुमान गर्ने प्रविधि अपनाइनेछ। आवश्यक परे पहिचानपत्र वा बैंक विवरण पनि मागिन सक्छ।
यदि प्लेटफर्महरूले नियम पालना गर्न नसके, उनीहरूलाई झन्डै ५० मिलियन अष्ट्रेलियन डलरसम्म जरिवाना हुनसक्ने प्रावधान छ।

कानुन लागू हुनुअघि नै करिब १० लाख बालबालिकाले ‘गुडबाइ’ भन्दै आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा अन्तिम पोस्ट गरेका छन्।
यद्यपि केहीले यस्तो प्रतिबन्धले आफूहरू सामाजिक रूपमा अलग पर्न सक्ने बताएका छन्। विशेष गरी LGBTQ+ समुदायका किशोर–किशोरीहरूले अनलाइन प्लेटफर्महरू नै आफ्नो भावनात्मक अभिव्यक्ति र सहयोग खोज्ने मुख्य माध्यम भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

डेनमार्क, न्यूजिल्यान्ड र मलेसियासहित धेरै देशहरूले अस्ट्रेलियाको यो मोडेल अध्ययन गर्न लागेको बताइएको छ।
एलन मस्कको एक्स (पूर्व Twitter) ले पनि यो नयाँ कानुन पालना गर्ने सूचित गरेको छ।

एक अध्ययनअनुसार ८ देखि १५ वर्षका ८६ प्रतिशत अष्ट्रेलियाली बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गरिरहेका थिए। विज्ञहरूका अनुसार यो प्रतिबन्धले “भविष्यका प्रयोगकर्ताको पाइपलाइनमै असर पार्न सक्छ।”

तपाईको प्रतिक्रिया