×

देवचुली नगरपालिका–२ स्थित सीजी फुड्स प्रालिमा स्टिम पाइपलाइन निर्माणका क्रममा देखिएको लापरबाहीका कारण एक युवक गम्भीर रूपमा घाइते भएका छन्। आज बिहान करिब १०:०५ बजे उच्च भोल्टेज (हाईटेन्सन) लाइनको सम्पर्कमा पर्दा पर्सा छिपहरमाई गाउँपालिका–३ का २६ वर्षीय सन्दीप महतो करेन्ट लागेर घाइते भएका हुन्।

घटनास्थलमा आवश्यक सुरक्षा मापदण्ड नअपनाइएको र काम गर्ने क्षेत्रमा जोखिमपूर्ण तारको अवस्थामा समेत ध्यान नदिएको आरोप उठिरहेको छ। करेन्ट लागेर महतोको शरीरका विभिन्न भाग जलेर करिब ३५ प्रतिशत क्षति पुगेको छ भने उनको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ।

घाइते महतोलाई तत्काल उपचारका लागि भरतपुरस्थित सरकारी अस्पताल पुर्‍याइएको हो। उपचारमा उद्योगका स्वास्थ्यकर्मी सागर बास्तोला संलग्न रहेको बताइएको छ। स्थानीयहरूका अनुसार कम्पनीले कामदारका सुरक्षासम्बन्धी सावधानीमा लापरबाही गरेको र घटनापछि मात्र सुरक्षा व्यवस्था कडाइ गरेको देखिन्छ।

घटनाबारे औपचारिक प्रतिक्रिया कम्पनीले अझै सार्वजनिक गरेको छैन।

तपाईको प्रतिक्रिया