×

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सरकारलाई आफ्ना मागहरू पुस २ गतेभित्र पूरा गर्नुपर्ने चेतावनी दिएका छन्।सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै उनले व्यवस्था परिवर्तन, २० लाखसम्मका ऋण मिनाहा लगायतका मुद्दासहितको मागपत्र बुझाएको बताए।

उनका अनुसार प्रधानमन्त्री कार्कीले मागहरूको विस्तृत अध्ययन र विज्ञहरूसँग परामर्श गर्नका लागि पुस २ गतेसम्म समय मागेकी छिन्।प्रसाईंले देशमा स्थायित्व र जनताको इच्छा बुझ्न सर्वदलीय सहमतिबाट जनमत संग्रहमा जानुपर्ने तर्क दोहोर्याए। “यदी जनताले आफूले चाहेको प्रणालीमा भोट हालिदिएपछि विवाद रहने कुरा नै हुँदैन। पुस २ गतेसम्म निर्णय नआए चुनाव हुँदैन, चुनाव हामीलाई चाहिँदैन,” उनले भने।

उनका अनुसार प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले सबै मागहरू ध्यानपूर्वक सुनेका छन्।“प्रधानमन्त्रीज्यूले हाम्रो माग जनजीविकासँग जोडिएको बताउनुभयो। उहाँले सबै कुरा अध्ययन गरेर सकारात्मक रुपमा निर्णय दिने प्रतिबद्धता व्यक्त गर्नुभयो,” प्रसाईंले बताए। भेटका क्रममा प्रसाईंले प्रधानमन्त्री कार्कीलाई दुर्गा माताको मूर्ति पनि उपहार दिएका थिए।

तपाईको प्रतिक्रिया