×

 चितवन। लायन्स क्लब अफ चितवन राइजले अध्यक्ष शिरीष पन्तको अध्यक्षतामा सोमबार एकै दिन चार वटा सामाजिक सेवा कार्यक्रम सम्पन्न गरेको छ। समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूलाई लक्षित गरी आयोजित कार्यक्रमहरू माडी नगरपालिका र भरतपुर महानगरका विभिन्न स्थानमा सम्पन्न गरिएका हुन्।

माडी नगरपालिका–४ मा आयोजित कार्यक्रममा क्यान्सर पीडित चित्रकला पाठकलाई क्लबले रु २५,००० आर्थिक सहयोग हस्तान्तरण गरेको छ। सोही दिन माडी नगरपालिका–३ को पौवारी टोलमा विपन्न विद्यार्थीहरूलाई आवश्यकीय स्टेसनरी सामग्री प्रदान गरिएको क्लबले जनाएको छ।

त्यसैगरी माडी नगरपालिकाको सुदूरपूर्व क्षेत्रमा रहेको आधारभूत विद्यालय कान्तिपुरलाई शैक्षिक सामग्री वितरण गरिएको छ। साथै भरतपुर महानगरपालिका–१५ स्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा समेत विद्यार्थीहरूका लागि कापी, कलम तथा अन्य सामग्री हस्तान्तरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा डिस्ट्रिक्ट गभर्नर ३२५ आर नेपालका लायन नवराज सापकोटा उपस्थित थिए। विशिष्ट अतिथिहरूमा निवर्तमान गभर्नर दिनानाथ न्यौपाने, फर्स्ट भि.डि.जी. लायन प्रभाकर पण्डित तथा अन्य पदाधिकारीहरू डिस्ट्रिक्ट ट्रेजरर विकास पौडेल, लायन आश्विन गोले, लायन कैलाश थापा, फ्यान्सी व्यवसाय संघ चितवनका अध्यक्ष रामप्रसाद पौडेल, युवा व्यवसायी लायन रामचन्द्र लम्साल र साहित्यकार लायन विपिन पाठक सहभागी थिए।

स्थानीय तहका प्रतिनिधिहरू—माडी नगरपालिका–४ का वडाध्यक्ष माधव चापागाईं र वडा नम्बर ८ का वडाध्यक्ष वीरेन्द्र भण्डारीलगायतको समेत उपस्थिति रहेको थियो। विभिन्न विद्यालयका विद्यार्थीहरूलाई ९०० थान कापी, कलम, पेन्सिल, इरेजर तथा फुटबल वितरण गरिएको क्लबले जनाएको छ।

लायन्स क्लब चितवन राइजले समाजसेवामा निरन्तर रूपमा विविध कार्यक्रममार्फत योगदान प्रदान गर्दै आएको छ।

तपाईको प्रतिक्रिया