×

चितवन राष्ट्रिय निकुञ्जले नवलपुरका एक नेचर गाइडको अनुमति पत्र एक महिनाका लागि निलम्बन गरेको छ। सूचना अधिकारी अविनाश थापा मगरका अनुसार, गाइडले पर्यटकलाई सामुदायिक वन भित्र प्रवेश गराएर वन्यजन्तु अवलोकन गराउँदा नियम उल्लंघन गरेका थिए।

उक्त गाइडले जंगलमा प्लास्टिक झोला र अन्य फोहोर फालेको साथै पर्यटकलाई जंगल भित्रै उतारेर ‘ड्राई पिकनिक’ गराएको घटना बाहिरिएपछि निकुञ्जले अनुसन्धान अगाडि बढाएको थियो।

थापाका अनुसार, यो निलम्बन केवल सतर्कता स्वरूप हो र भविष्यमा यदि नियम उल्लंघन दोहोरियो भने लाईसेन्स खारेज गरिने सम्भावना रहेको छ।

निकुञ्जले दिव्य मध्यवर्ती सामुदायिक वनलाई समेत नियम पालना गरी सफारी सञ्चालन गर्न सचेत गराएको छ। थापाले भने, “पहिलो चरणमा सम्झाई बुझाइ, दोस्रो चरणमा जीप सफारीमा रोक, र तेस्रो चरणमा गल्ती दोहोरिए सामुदायिक वन फिर्ता लिनेसम्मको कदम चाल्नेछौं।”

चितवन राष्ट्रिय निकुञ्जको यो कदमले वन्यजन्तु संरक्षण र पर्यटक सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता देखाउँछ।

तपाईको प्रतिक्रिया