गैंडाकोट- सूर्यभक्त पतनादेवी मेमोरियल (एसपीएम) कलेजको चौथो कलेज सभा तथा पाँचौँ कलेज व्यवस्थापन समिति पुनर्गठन कार्यक्रम शनिबार सम्पन्न भएको छ। अधिवेशनले महेन्द्रभक्त अधिकारीलाई पुनः अध्यक्षमा चयन गरेको कलेजका प्राचार्य दीपेन्द्र पौडेलले जानकारी दिएका छन्। कलेजको विधानअनुसार अन्य पदाधिकारी पछि चयन गरिने बताइएको छ।
गैंडाकोट नगरपालिकाका नगरप्रमुख तथा कलेजका संस्थापक अध्यक्ष मदनभक्त अधिकारी कार्यक्रमका प्रमुख अतिथि रहेका थिए। कलेजको निरन्तर उन्नति र प्रगतिप्रति खुसी व्यक्त गर्दै उनले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा कलेजका प्राचार्य दीपेन्द्र पौडेलले प्रतिवेदन प्रस्तुत गर्दै कलेजमा हाल ४०० विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए। उनले मानविकी, व्यवस्थापन र शिक्षा संकायअन्तर्गत स्नातक तहका कक्षाहरू सञ्चालन भइरहेको बताए।
शुभकामना मन्तव्य राख्नेमा वडा नं. २ का वडासदस्य सकिला परियार, लेखा समिति सदस्य गोविन्द लामिछाने, प्राध्यापक संघका सभापति अर्जुन गिरी, स्वतन्त्र विद्यार्थी युनियनका सभापति श्याम बाचे मगरलगायत सहभागी थिए।
कार्यक्रमका क्रममा कालिका मेडिकल एण्ड टेक्निकल इन्स्टिच्युटका प्रिन्सिपल ध्रुव काफ्लेलाई सम्मान गरिएको थियो। उनले कलेजको जग्गा व्यवस्थापन र सदुपयोगमा ध्यान दिन आग्रह गरे।
कार्यक्रम कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रभक्त अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत मन्तव्य उपाध्यक्ष नीलकण्ठ मरासिनीले राखेका थिए भने सहजीकरण शिक्षा संकाय प्रमुख माधवप्रसाद सिग्देलले गरेका थिए।





















उज्यालो खबर










