नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैडाकोट नगरपालिका–२, भृकुटीचोकस्थित पूर्व–पश्चिम राजमार्गमा ट्याङ्कर र साइकल एकआपसमा ठोक्किँदा एक महिला घाइते भएकी छन्। दुर्घटना अपराह्न करिब १४:४० बजे भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रहरीका अनुसार अमलेखगञ्जबाट रूपन्देहीको भलवाडी तर्फ जाँदै गरेको लु १ ख ८१२० नम्बरको डिजेल बोकेको ट्याङ्करले उत्तरबाट दक्षिणतर्फ बाटो क्रस गर्दै गरेकी साइकल यात्रीलाई ठक्कर दिएको हो। ट्याङ्करको ठक्करबाट ४२ वर्षीया बबिता देवी शर्मा, स्थायी घर बाग्लुङ र हाल गैडाकोट नगरपालिका–५ बसोबास, घाइते भएकी छिन्।
शर्माको टाउको, अनुहार, बायाँ हात तथा दायाँ खुट्टामा चोटपटक लागेको छ भने उनको अवस्था मध्यम रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। घाइते शर्मालाई उपचारका लागि तत्कालै भरतपुर सरकारी अस्पताल, चितवन पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न साइकल, ट्याङ्कर र ट्याङ्कर चालक लक्ष्मण प्रसाद काँहार, उमेर ५३ वर्ष, स्थायी घर रूपन्देही, सिद्धार्थ नगरपालिका–१३ तथा हाल भारत, उत्तर प्रदेशको पौतानाहवामा बसोबास, प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





















उज्यालो खबर










