सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स आज भिड्दै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न ४ बजे सुरू हुनेछ।
लिग चरणको अन्तिम खेल खेल्न लागेको लुम्बिनीले अघिल्ला ६ खेलमध्ये ३ मा जित दर्ता गर्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको छ। आजको खेल जित्नुपर्ने दबाबमा रहेको लुम्बिनीले जीत हासिल गरे प्लेअफमा आफ्नो स्थान पक्का गर्नेछ। लुम्बिनीको जितसँगै प्रतियोगिताको प्लेअफ समीकरण पनि पूरा हुनेछ।
पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स भने यसपटक कमजोर लयमा देखिएको छ। ५ खेलमध्ये केवल १ खेल जितेको जनकपुर २ अंकसहित तालिकाको पुछारमा छ। शुक्रबार आफ्नो छैटौँ खेल खेल्दै गरेको जनकपुरले आज जित निकाले पनि उसको प्लेअफ आशा अन्य टोलीका परिणाममा निर्भर रहनेछ।
यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन्। अपराजित सुदूरपश्चिम १२ अंकसहित शीर्ष स्थानमा छ र उसका अझै एक खेल बाँकी छ। सबै खेल सकाएको काठमाडौं १० अंकसहित दोस्रो र एक खेल बाँकी विराटनगर ८ अंकसहित तेस्रो स्थानमा छन्। लुम्बिनी हाल चौथो स्थानमा रहेको छ।
६-६ खेल खेलेका पोखरा एभेन्जर्स र चितवन राइनोज ४–४ अंकसहित क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन्। ६ खेल पूरा गरेको कर्णाली याक्स २ अंकसहित सातौँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिसकेको छ।
आज मैदान उत्रँदै गरेको लुम्बिनी लायन्सको कप्तानी नेपाली राष्ट्रिय टोलीका skipper रोहित पौडेलले सम्हालिरहेका छन्। स्क्वाडमा रोहित पौडेल (कप्तान), दिनेश अधिकारी, समीर अली, तिलकराज भण्डारी, थोमस ड्राका, अभिषेश गौतम, दुर्गेश गुप्ता, सन्दीप जोरा, आदिल खान, सुमित महर्जन, शेर मल्ल, गुलबदीन नाइब, दिलीप नाथ (विकेटकिपर), विशाल पटेल, डार्सी सर्ट, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान छन्।
जनकपुर बोल्ट्सको नेतृत्व अनिल साह (विकेटकिपर) ले गरिरहेका छन्। टोलीमा अनिल साह (कप्तान), विकास आग्री, सचिन भट्ट, शुभ कंसाकार, सञ्जय कृष्णमूर्ति, निकोल लोफ्टी–ईटन, आदित्य महाता, किशोर महतो, लाहिरु मिलन्था (विकेटकिपर), वायन पार्नेल, ललित राजवंशी, लाहिरु समरकून, संगिथ कोरी, आसिफ शेख (विकेटकिपर), रुपेश सिंह, इमरान ताहिर, पप्पु यादव र मयन यादव रहेका छन्।





















उज्यालो खबर










