काठमाडौं — सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६५ रनको योगफल बनाएको हो।
काठमाडौँका ओपनर बेन चार्ल्सवर्थले पारी सम्हाल्दै उत्कृष्ट प्रदर्शन गरे। लगातार विकेट पतन भइरहेको अवस्थामा उनले ५५ बलमा ५ चौका र २ छक्कासहित ६४ रनको इनिङ्स खेले। उनी १९औँ ओभरसम्म क्रीजमा टिकेका थिए।
सातौँ नम्बरमा ब्याटिङ गर्न आएका भीम शार्कीले आक्रमक पारी खेले। उनले एनपीएलमा यस सिजनको संयुक्त रूपमा सबैभन्दा छिटो १९ बलमा अर्धशतक बनाउँदै २३ बलमा ५ चौका र ४ छक्कासहित ५५ रन जोडे। प्रारम्भिक पाँच विकेट गुमाएर समस्यामा परेको काठमाडौँलाई चार्ल्सवर्थ–शार्की जोडीले सम्हाल्दै प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्याए।
यसअघि काठमाडौँले ७९ रनमै ५ विकेट गुमाएको थियो।
ओपनर आकाश त्रिपाठी खाता नखोली आउट भए भने रासिद खान ७ रनमा पभेलियन फर्किए। मिलिन्द कुमारले १३, जोन सिम्पसनले २ तथा आदिल आलमले ७ रन मात्र जोडे।
बलिङतर्फ पोखराका धनन्जय लक्षन सर्वाधिक प्रभावकारी बने। उनले ४ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ४ विकेट लिए। कप्तान कुशल भुर्तेलले २ विकेट तथा विपिन खत्री र किरण ठगुन्नाले समान १–१ विकेट हात पारे।
अब पोखरा एभेन्जर्सले जितका लागि १६६ रनको लक्ष्य पछ्याउनेछ।



उज्यालो खबर




