×

चितवन –उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले आगामी पुस २१ गते हुने संघको अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। उनले  सामाजिक सञ्जाल फेसबुक मार्फत एक सार्वजनिक अपिल जारी गर्दै आफ्नो दुई दशक लामो संघीय अनुभव, योगदान र आगामी कार्यदृष्टि प्रस्तुत गर्दै उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका हुन्।

सुवेदीले विसं २०६० देखि संघको विभिन्न तहमा रहेर सेवा गर्दै आएको उल्लेख गर्दै आफूले कार्यसमिति सदस्यदेखि तृतीय, द्वितीय र पहिलो उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षसम्मको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको जनाएका छन्।
उनका अनुसार संघमा पारदर्शिता, वित्तीय अनुशासन र संस्थागत संरचनालाई मजबुत बनाउन आफूले विभिन्न तहमा महत्वपूर्ण पहलहरू गरेका छन्।

तृतीय उपाध्यक्षका रूपमा उनले माडी र इच्छाकामनालाई क्षेत्रीय संघका रूपमा स्थापित गरी टाढापर्खालाका व्यवसायीलाई मुख्यधारमा ल्याउन सफल भएको दाबी गरे। प्रथम उपाध्यक्ष हुँदा उनले मासिक आम्दानी–खर्च कार्यसमितिबाट अनिवार्य पारित गर्ने प्रणाली लागू गरी संघको वित्तीय सुशासनमा ‘कोसेढुङ्गा’ खडा गरेको पनि उल्लेख गरे।

वरिष्ठ उपाध्यक्षका रूपमा कर तथा राजश्वसम्बन्धी समस्यामा व्यवसायीलाई सहजीकरण, विभिन्न संस्थामा छुट सुविधा उपलब्ध गराउने, सुनचाँदी व्यवसायीको आन्दोलनमा संस्थागत समर्थन जनाउने तथा वस्तुगत संघ गठनमा सक्रिय भूमिका निर्वाह गरेको सुवेदीले बताए।

त्यस्तै, चितवन महोत्सवका विभिन्न समितिको संयोजकका रूपमा रहेर आफूले हरेक वर्ष महोत्सवलाई भव्य र सभ्य बनाउन योगदान पुर्याएको उनको भनाइ छ। सामाजिक क्षेत्रमा पनि आफू रेडक्रस, लायन्स क्लब, क्यान्सर सेवा समिति, नेत्रज्योति संघलगायत संस्थामा सक्रिय रहेको उनले स्पष्ट पारे।

सुवेदीले अबको नेतृत्व “अनुभवी, ऊर्जाशील र व्यवसायीको भरोसाको केन्द्र” बन्नुपर्ने बताउँदै आफूले संघलाई अझ व्यवसायीमैत्री, पारदर्शी र परिणाममुखी बनाउने संकल्प रहेको उल्लेख गरे।

“चितवनको व्यावसायिक भविष्य सुरक्षित गर्न म आगामी अधिवेशनमा अध्यक्ष पदको उम्मेदवार बन्दैछु। सबै उद्योगी–व्यवसायीको अमूल्य मत, सल्लाह र समर्थनको अपेक्षा गर्दछु,” उनले फेसबुकमा लेखेका छन्।

तपाईको प्रतिक्रिया