चितवन – फेन्सी व्यवसायी संघ चितवनले उद्योग वाणिज्य संघ चितवनको आसन्न अधिवेशनका लागि उपाध्यक्षमा शंकरप्रसाद घिमिरेलाई अघि बढाउने निर्णय गरेको छ। केहिदिन अघि बसेको संघको बैठकले घिमिरेलाई सर्वसम्मत रूपमा समर्थन गर्ने निर्णय गरेको हो।
फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष रामप्रसाद पौडेलले घिमिरे व्यवसायीको हकहितमा निरन्तर सक्रिय, अनुभवी तथा कार्यदक्ष व्यक्तित्व भएको उल्लेख गर्दै संघले सक्षम नेतृत्वलाई अघि सार्न पाउँदा खुसी व्यक्त गरे। “चितवनका व्यवसायीका मुद्दा बुझ्ने, समाधानमा पहल गर्ने क्षमता घिमिरेमा छ। उनी संस्थालाई थप गतिशील बनाउन सक्षम व्यक्ति हुन्,” पौडेलले भने।
उद्योग वाणिज्य संघमा बस्तुगत तर्फका निर्विरोध कार्यसमिति सदस्य रहेका घिमिरेलाई पूर्वअध्यक्ष र सल्लाहकारहरू उपस्थित बैठकले सर्वसम्मत रूपमा अघि सारेको हो। फेन्सी व्यवसायी संघमा आवद्ध करिब १,२०० सदस्यमध्ये ५०० भन्दा बढी उद्योग वाणिज्य संघका सदस्यसमेत रहेका छन्। उद्योग वाणिज्य संघमा कुल ३,७०० मतदाता रहेका छन्। आगामी अधिवेशन पुसको तेस्रो साताका लागि तोकिएको छ।
घिमिरेले आफूले उम्मेदवारी दिनुका कारण स्पष्ट पार्दै भने, “व्यवसायीका साना–ठूला समस्या पहिचान गरेर प्रभावकारी समाधान ल्याउने, अग्रजको अनुभवलाई सम्मानपूर्वक संस्थागत रूप दिने र नयाँ पुस्तालाई उद्यमशीलतामा अघि बढ्न प्रेरित गर्ने लक्ष्यसहित म उम्मेदवारीमा उभिन लागेको हुँ।”
उनले थप भने,“उद्योग–वाणिज्य क्षेत्रलाई व्यवस्थित, पारदर्शी र व्यवसायमैत्री बनाउन आवश्यक नीति–संरचना सुधार, बजार व्यवस्थापनमा सहजता र समन्वय विस्तार मेरा प्राथमिकतामा रहनेछन्। संघलाई सबै व्यवसायीको साझा घरका रूपमा सक्षम बनाउने हाम्रो उद्देश्य हो।”
उम्मेदवारका रूपमा अघि सारिएका घिमिरे होटल डायमन्ड, डायमन्ड फेन्सी तथा ग्यालेक्सी गार्डेन रिसोर्टका सञ्चालक हुन्। साथै, उनी कमलनगर बजार व्यवस्थापन समितिका संस्थापक अध्यक्ष, गणेश बजार व्यवस्थापन समितिका पूर्व उपाध्यक्ष तथा रोटरी क्लब अफ गैँडाकोटका पूर्व अध्यक्षसमेत भइसकेका छन्।



उज्यालो खबर




