बुटवल ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सवारीसाधन चलाउन प्रहरीले आग्रह गरेको छैन । निरन्तर वर्षा रोकिए पनि सडक हिलो र चिप्लो बनेको कारण दाउन्नेको पूर्वी र पश्चिम दुबै खण्डमा सवारीसाधनको लामो लाइन लागेकाले प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पश्चिमबाट पूर्वतर्फ (बर्दघाट–दुम्किबास) जाने सवारीसाधन पास भए पनि पूर्वबाट पश्चिमतर्फ जाने सवारीसाधन रोकिएका छन् । सडक अत्यधिक चिप्लो भएपछि उकालोमा सवारी चढ्न नसक्दा ठाउँ–ठाउँमा बिग्रिएका छन्, जसले गर्दा करिब १० किलोमिटर लामो जाम लागेको बताइएको छ ।
प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार दाउन्नेको विभिन्न स्थानमा बिग्रिएका सवारीका कारण सडक एकतर्फी सञ्चालनमा आएको छ । उनले भने, “ठाउँ–ठाउँमा गाडी फस्दा र बिग्रँदा यातायात ठप्प भएको छ ।”
दाउन्ने सडकमा पाँच दिनदेखि निरन्तर समस्या भइरहेकाले जिल्ला प्रहरीले सोमबार एक सूचना जारी गरी वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको हो ।
दुम्किबासका स्थानीयवासीका अनुसार दाउन्नेदेखि होङसी सिमेन्ट गेटसम्म सवारीसाधनको लामो लाइन देखिन्छ । अहिले प्रहरीले कावासोती, डण्डा, चोरमारा, अरुणखोला लगायत स्थानमा गाडीलाई होल्ड गरेर राखेको छ ।
दाउन्नेको उकालोमा अर्धदर्जनभन्दा बढी सवारी बिग्रिएर रोकिएका छन्, जसलाई तत्काल हटाउन कठिन भएको प्रहरीले जनाएको छ । हिलो र चिप्लोले सवारी फस्ने र यात्रुहरू घण्टौँजसो जाममा अल्मिने स्थिति दोहोरिँदै आएको छ ।
सडक विभागले दशैंअघि नै यात्रा सहज बनाउन निर्देशन दिए पनि सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीले दाउन्नेको १४ किलोमिटरमध्ये केवल ३ किलोमिटर भाग कालोपत्रे गरेको छ । बाँकी अधिकांश भाग कच्ची र खाल्डाखुल्डी भएको छ ।
त्यसैगरी, दाउन्नेका चार ठाउँमा कल्भर्ट निर्माण नसकिँदा सडक एकतर्फी बनेको छ भने ठुलो–ढलानका स्थानहरूमा पनि सवारी पास गर्न समस्या देखिएको छ । जसका कारण थोरै पानी परे पनि यातायात सञ्चालनमा गम्भीर कठिनाइ हुने गरेको हो ।




















उज्यालो खबर

















