×

जनकपुरधाम । धनुषामा यात्रुबाहक बसले अटोरिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन जना सहित चार जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई बालबालिका गम्भीर घाइते भएका छन्।

घटना शनिबार साँझ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–१, वीरेन्द्र बजार नजिक भएको हो। विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोरिक्सालाई ठक्कर दिएको थियो।

दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका–१ भरतपुरका ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीय निशा मगर र करिब ४० वर्षीय अटोरिक्सा चालक डम्बर राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण तोसीले जानकारी दिए।

उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, दुर्घटनामा गम्भीर घाइते १४ वर्षीय शीतल मगर र ९ वर्षीय रोशन मगरलाई जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।

तपाईको प्रतिक्रिया